राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संसदमा दर्ता गरिएको संशोधन विधेयक सच्चिनेमा आशावादी रहेको बताएका छन् ।
पोखरामा नागरिक संगठनहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त शर्माले संविधान विपरित दर्ता गरिएको संशोधन विधेयकलाई सच्चाउनका लागी राष्ट्रिय÷अन्तराष्ट्रिय क्षेत्रबाट दवाब आवश्यक रहेको धारणा राखे ।
‘सडकमा गएर आन्दोलन गर्न त सक्दैनौं तर नागरिक समाजले शान्तिपूर्ण रुपमा दवाब दिन सक्छ’,उनले भने ।
शर्माले विश्वकै उत्कृष्ट संविधान आएपनि त्यसको कार्यन्वयन पक्ष फितलो रहेको बताए ।
‘देशमा दण्डहिनता चरम उत्कर्षमा छ,संविधानको कार्यन्वयन निकै फितलो छ’,उनले भने,‘ आयोगले दिएका सुझावहरुलाई समेत नसमेटिएको विधेयक पेरिस सिद्धान्त विपरित छ ।’
राष्ट्रिय मानवअधिकार आयोगले कारबाही सफारिस गरेका अधिकांश मुद्धाहरु द्घन्दकालिन रहेको उनले खुलाए ।
राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले सरकारले संसदमा टेवल गराएको संशोधन विधेयकको सट्टा २०५३ को ऐनलाई प्रतिस्थापन गरे स्विकार्य हुने धारणा राखे ।
उनले विधेयक हिजोका मानवअधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तीहरुलाई बचाउन ल्याइएको जस्तो देखिएको बताए ।
मानवअधिकारकर्मी खगराज आचार्यले सरकार मानवअधिकारका विषयमा अनुदार रहेको बताए ।
उनले अपराधीलाई कानुनी रुपमा कारबाही नगरिदाँ कानुन प्रतिको विश्वास गुम्दै गएको अनुभूत भएको भनाई राखे ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानवअधिकार संशोधन विधयेक पारित भए मानवअधिकारको अवस्था अझ दर्दनाक बन्न सक्ने भनाइ राखे ।
उनले गण्डकी प्रदेशमा महिला माथि हुने हिंसाका घटनामा वृद्धि भैरहेको बताए ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले संक्रमणकालिन न्यायका विषयलाई दवाउनका लागी सरकारले मिडिया र मानवअधिकार आयोगलाई नियन्त्रित गर्न विधेयक ल्याएको भनाइ राखे ।
गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवालले कानुनको सहि कार्यन्वयन नहुदाँ देशमा अराजकता मौलाएको बताइन् ।
मानवअधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष कमल आर्यालले संविधानमा उल्लेख गरिएका सबै आयोगहरुलाई हटाएर एउटा मात्रै मुख्य आयोगको रुपमा मानवअधिकार आयोगलाई स्थापित गरिनुपर्ने धारणा राखे ।
उनले विधयेकबाट सरकार निरंकुश बनेको भन्ने विषयमा आयोगको धारणा समेत मागेका थिए ।
कार्यक्रममा गैसस महासंघ कास्की अध्यक्ष पदम पहारी , पत्रकार फणिन्द्र अकिन्चन लगायतले बोलेका थिए ।