विद्यार्थी कुटेको आरोपमा उदयपुरका तीन पत्रकार सहित चार जनालाई सार्वजनिक मुद्धा दर्ता गरेको छ । स्थानीय पत्रकार देवराज राई, चित्रकुमार कार्की, रमिला बस्नेत सहित चार जनाले समुहले चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योती बहुमुखि क्याम्पस बेल्टारमा बिएड प्रथम वर्षमा अध्यायनरत बिद्यार्थी माथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक मुद्धा दर्ता गरेको छ ।
क्याम्पसमा दिउँसो ४ः ३० बजे शिक्षकले पढाई राखेको अबस्थामा कक्षा कोठामा नै पुगेर बिएड प्रथम वर्षका अजय राईलाई कुटपिट गरेपछि पक्राउ गरि सार्वजनिक मुद्धा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक गंगा पौडेलले बताए । यस्तै अनुसन्धानको लागि १० दिनको म्याद दिईएको प्रहरीले जानकारी दिए ।
शिक्षक द्रोण पराजुलीले पढाई राखेको अबस्थामा एक्कासी पत्रकारहरु कक्षा कोठामा पसि बिद्यार्थीमा माथि कुटपिट गरेको प्रहरी निरिक्षक पौडेलको भनाइ छ । ‘कक्षा कोठामा पढाई राखेको बेला एक्कासी बिद्यार्थी माथि कुटपिट गरि शैक्षिक बातावरण धमिल्याउने काम भएको छ,’ उनले भने, ‘तत्काल प्रहरीलाई खबर आयो पक्राउपछि सोम म्याद थप गरी अनुसन्धान अघि बढाएका छौ ।’
प्रहरी निरीक्षकका पौडेलका अनुसार सार्वजानिक हित, शान्ति तथा स्वास्थ्य विरुद्ध अपराध मुद्धा दर्ता गरिएको छ । पत्रकार राई उदयपुर पत्रकार महासंघमा आवद्ध साधारण सदस्य तथा गाईघाटबाट प्रकाशित हुने त्रियुगा एक्सेप्रेस दैनिकका कार्यकारी सम्पादक हुन । राईको टोलीमा उदयपुरबाटै प्रकाशन हुने उदयपुर सिम्रिक दैनिकका कार्यकारी सम्पदक रहेका चित्रकुमार कार्की उल्टो मोटरसाइकल यात्री हुन । पत्रकारनै भनि हिड्ने हेण्डवल खेलाडी तथा मिस प्रदेश १ की विजेता रमिला बस्नेत पनि पक्राउ परेका छन् । कार्की र बस्नेत पत्रकार महासंघमा आवद्ध छैनन । राई, कार्की र बस्नेतको टोलीमा स्थानीय युवा शिव रोइला समेत पक्राउ परेका छन । पक्राउ परेका सवै चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिकावासी हुनु ।
पत्रकार महासंघ उदयपुरद्वारा राई निलम्वित
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का र सचिव प्रशुराम थापाले एक विज्ञप्ति जारी गर्दै साधारण सदस्यबाट देवराज राईलाई निलम्वन गरेको घोषणा गरेका छन । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय परिसर भित्र प्रवेस गरी अध्ययन गरिरहेका विद्यार्थीहरु माथि यो घटना प्रति महासंघ दुखी छ । यसर्थ घटनाको निश्पक्ष छानविन गरी यथार्थ जानकारी ल्याई दिन समेत हामी सम्बन्धित निकायसँग अपिल गर्दछौ । घटनामा संलग्न पात्रहरु चित्र कार्की, रमिला बस्नेत महासंघका सदस्य समेत नरहेको जानकारी गराउदै महासंघका साधरण सदस्य देवराज राईलाई नेपाल पत्रकार महासंघको विधानको दफा ३२ अनुसार पत्रकार आचारण विपरित कार्य गरेकाले अनुसन्धानलाई सहयोग पु¥याउनको लागि निज साधरण सदस्यता निलम्बन गरिएको व्यहोरा विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘समाजको ऐनाको रुपमा स्थापित पत्रकारबाट यो सम्मको गलत हर्कत प्रति हामी दुखी छौं । हामी विधीको शासन स्थापित हुनु पर्छ भन्नेमा दृढ छौं । यस कारण कानुन हातमा लिई गरिने कुनै पनि गैरकानुनी क्रियाकलाप पत्रकार होस या अन्य कोहीबाट होस् त्यो हामीलाई कदापी स्वीकार्य छैन् । यसै विज्ञप्तिद्धारा जनसमुदायलाई जानकारी गराउदछौ ।’
मैले कुटेको छैन–पक्राउ परेका पत्रकार राई
सोमबार प्रहरीले सार्वजानिक हित, शान्ति तथा स्वास्थ्य विरुद्ध अपराध मुद्धा दर्ता गरी म्याद थप्न वकिल कार्यालय र जिल्ला प्रशासन कार्यलय उदयपुरमा म्याद थप्न ल्याएको थियो । सोही अवसरमा भेट हुँदा थाहाखवरसँग कुरा गर्दै पत्रकार राईले आफुले कुटपिट नगरेको बताएका छन । राईले कुटपिटमा आफु संलग्न नरहेको र आफु रिपोटिङबाट फर्कदा भेट हुने क्रममा झगडामा परेको दावी गरेका हुन ।
उदयपुरबाट प्रकाशित हुने त्रियुगा एक्स्प्रेस दैनिकमा कार्यरत कार्यकारी सम्पादक राईले भने, ‘समाचार संकलन गरी घर फर्कदै गर्दा ज्योति बहुमुखी क्याम्पसमा दुई समूहबिच झगडा हुँदा छुट्याउन खोज्दा पक्राउ परे ।’ विद्यार्थीमाथि चित्रकुमार कार्कीले कुटपिट गरेको र रमिला बस्नेतले मुखले गाली गरेको राईको भनाई छ ।
विद्यार्थी आन्दोलित
पत्रकारले क्याम्पस हाता भित्रै विद्यार्थी कुटपिट गरेको भन्दै ज्योती बहुमुखि क्याम्पस बेल्टारका विद्यार्थी आन्दोलित बनेका छन । बेल्टारका स्थानीय पत्रकार राजेन्द्र दुष्टले नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कडा कारवाहीको माग गर्दै नाराबाजी गरेर विद्यार्थीहरु बजार परिक्रमा गरिरहेको बताए । नेविसंघका अविनास चाम्लिङको नेतृत्वमा बजार परिक्रमा गरेका थिए । ‘क्याम्पस हाता भित्र विद्यार्थी कुटिएको भन्दै क्याम्पसका सम्पुर्ण विद्यार्थी आन्दोलित बनेका छन,’ उनले भने, ‘विद्यार्थीले कडा कारवाहीको माग राखेका छन ।’