काठमाडौंमा लगातार सिरिन्ज आक्रमणको घटना बढेर गएको पाइएको छ । महिनामा काठमाडौंको डल्लु क्षेत्रमा मात्रै चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ ।
एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएका छन । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उपचारमा संलग्न सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।
‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन् । सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ बाँस्तोलाले भन्नुभयो, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको पीडितहरुले बताएका छन ।
घटनाबारे चारै युवतीको भनाइ एकै खालको रहेको बाँस्तोलाले जानकारी दिनुभयो । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा बाँस्तोलाले बताउनु भयो । हाल चारै युवतीको स्वास्थ्य सामान्य छ । उनीहरू २० देखि ३० वर्ष उमेरका छन् ।
घटना बढदै गएपछि प्रहरीले गम्भीरुतापुर्वक अनुसन्धान अघि बढाएको छ । प्रहरी अनुसन्धानमा युवतीहरूलाई सिरिन्ज वा अन्य धातुले प्रहार भएको हो भन्ने अझै यकिन भएको छैन । ‘पीडितको उजुरीअनुसार अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्य भन्नुहुन्छ ‘सिसिटिभीको समेत सहायतामा अभियुक्तहरूको पहिचान गर्ने काम भइरहेको छ ।’