नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक पठाइएको डिजेल बिहीबार मध्यरात नेपालमा आइपुग्दैछ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा पहिलोपटक परिक्षणका लागि पठाइएको एक हजार लिटर डिजेल अमलेखगन्ज डिपोमा खस्नेछ ।
अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवक अनुसार भारतबाट बुधबार दिउँसो १२ बजे पाइपलाइनमा डिजेल हालिएको थियो ।
पानीको सफल परिक्षणपछि पहिलोपटक पाइपलाइनमा डिजेल पठाइएको उनले बताए । ‘आज राति १२ बजेको आसपासमा आयल निगमको अमलेखगन्ज डिपोमा डिजेल खस्ने अनुमान छ,’ यादवले भने ।
बुधबार मोतिहारीबाट पम्पिङ गरिएको एक हजार लिटर डिजेलको अघिल्लो भागमा पानी रहेका कारण उक्त तेल अमलेखगञ्जमा निकालिएपछि प्रशोधन गरेर पानी र तेल छुट्याइने छ । यसका लागि अमलेखगञ्ज डिपोमा चारवटा ट्याङ्की तयारी अवस्थामा छन् । पाइपलाइनबाट भण्डारण ट्याङ्कीसम्म तेल लैजान पनि पाइपलाइनकै प्रयोग हुने र यसको जडान सम्पन्न भएको यादवले बताए ।
पाइपलाइनको औपचारिक उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरिराख्न थप २१ हजार लिटर तेल बिहीबार १२ बजेदेखि पुनः पठाउन थालिएको उनले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि अमलेखगन्जमा छ ।
नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । एक दशकसम्म सुरु हुन नसकेको परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो । त्यसबेला तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच सम्झौता भएको थियो ।
तर २०७४ पुसमा मात्र भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थाल्यो । १८ महिनापछि असारमा पाइपलाइन निर्माण सम्पन्न भएको छ । कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादव बताउँछन् ।