बेलायती साम्राज्यका निम्ती मारिएका, बेपत्ता पारिएका ६० हजार गोरखाहरुको सम्मानमा स्याङ्जा जिल्लाको फेदिखोला गाउपालिका वडा नं. १ साल्मेडाडामा निर्माणाधीन गोरखा स्मारकमा पुर्व संंविधानसभा सदस्य प्रा.डा.गणेशमान गुरुङले हस्तक्षेप गरी लथालिङ्ग बनाएको आरोप लगाइएको छ।
गोरखा भुतपूर्व सैनिक संघ(गेसो)का संस्थापक सभापति तथा गोरखा स्मारक ट्रष्टका सभापति पदमबहादुर गुरुङले पत्रकार सम्मेलन गर्नुभई बेलायती साम्राज्यको षडयन्त्रमा विद्वानहरु गणेशमान र चन्द्रबहादुरले गोरखा स्मारक निर्माण लथालिङ्ग बनाएको आरोप लगाउनुभएको हो।
गणेशमानले गोरखा स्मारकमा राजनिति गर्दै गोरखा स्मारकको अवधारणापत्रबाट गेसोका संस्थापक सभापति तथा गोरखा स्मारक ट्रष्टका सभापति पदमबहादुर गुरुङको नाम हटाउदै शहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट ५ करोड रुपैया स्थानिय सर्वसाधारण गणेश बि.क.को नाममा निकासा गरेको, उक्त योजनाका बरिष्ठ डिजाइनर आर्किटेक्ट इन्जिनियर शंकरनाथ रिमाललाई समेत थाहा नदिई संरचना बिगार्दै पानी खन्ने, जथाभावी बिजुलीको खम्बाहरु ठड्याउन लगाएर निर्माणाधीन राष्ट्रिय सम्पदा माथि नै अराजकता मचाएको, गणेशमानको कार्यकर्ताको भर्ती केन्द्र बनाएको, योजना विफल बनाउन भुमिका खेलेको भन्दै खेद प्रकट गर्नुभयो।
गोरखा समाधिलाई राष्ट्रकै सम्पदा, गोरखामाथि बेलायती साम्राज्यले गरेको अन्याय, अपमान, अमानवियता छर्लङ्ग पार्ने गरी विश्वको ध्यानाकर्षण गर्ने केन्द्रको रुपमा विकास गरिन लागेको योजनालाई बेलायतमा भत्ता खाएर बसेका डा.चन्द्रबहादुर गुरुङलाई बोलाएर साल्मेको संरचना बिगारेको उहाँको आरोप छ। संरचना बिगारेर पानी ट्याङ्की निर्माण गरी चैत्र १६ गते गण्डकी प्रदेशका मन्त्रीलाई उद्घाटन समेत गराएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। अवधारणाकर्ता म पदमबहादुर र डिजाइनर शंकरनाथ रिमाललाई किन सोधिएन उहाँको प्रश्न थियो। पर्यटन विभागबाट ५० लाख र गण्डकी प्रदेश सरकारको ३० लाख रुपैयाको पानी ट्याङ्की र जथाभावी बिजुलीको खम्बा ठडाउदा आफुहरु लगायत स्थानीय जनप्रतिनीधिलाई वेवास्ता गरेको भन्दै संस्थापक सभापतिले दुःख व्यक्त गर्नुभयो।
विद्धान गणेशमान र चन्द्रबहादुरले नेपाल सरकारको ८० लाख रुपैयाको हिसाब किताब प्रष्ट पार्नुपर्दछ भन्नुहुदै उहाँले निर्दोष कर्मचारी,स्थानीयबासी सर्वसाधारण गणेश बिकलाई फसाएर किर्ते र षडयन्त्र गर्ने नाइकेहरुलाई होशियार गर्नुभयो।
इन्जिनियर रिमालको डिजाइन अनुसार निर्माण भईरहेको गोरखा स्मारक हाल आएर अलपत्र पारेको भन्दै उहाँले रोश व्यक्त गर्नुभयो। स्थानियलाई वेवास्ता, अवधारणा ल्याउने आफुहरुलाई अपमान र डिजाइनरलाई समेत उनीहरुको हर्कतले दुखित तुल्याएको संस्थापक सभापति गुरुङले बताउनुभयो।
बेलायतमा भत्ता खाएर बसेका ७ जना भुपू सैनिकहरुलाई गतसाल चैत्र ३ गते जम्मा गरेर ट्रष्टको एक जना सदस्यका उपस्थितीमा बैठक बसी किर्ते माइन्युट गरी ट्रष्टको सभापतिबाट पदमबहादुरलाई हटाएर जंगबहादुर गुरुङलाई सभापति बनायौं भन्दै षडयन्त्रकारी गणेशमान आफै चैत्र १८ गते जिल्ला प्रसासन कार्यालय स्याङ्जामा पुग्नु पुर्व सांसदको नैतिकताले नसुहाउने र संस्था माथि ठाडो हस्तक्षेपकै कारण उच्च अदालत पोखरामा आफुले रिट दायर गरेको उहाँको भनाई थियो। पदमबहादुर गुरुङका अनुसार उक्त मुद्धामा आफ्नो पक्षमा फैसला भएको छ।
राष्ट्रिय सम्पदामाथि स्वार्थका राजनीतिक गर्ने अधिकार कसैलाई छुट छैन, सम्पदामाथि राजनिति गर्ने सामाजिक अपराधी हो भन्नुहुदै सामाजिक अपराध गर्नेलाई जन्मदिने बाउ भए पनि छाड्न नहुने पदमबहादुर गुरुङको पत्रकार सम्मेलनमा आक्रोश थियो।
तपाई माथि आर्थिक अनियमितिताको आरोप लगाईएको छ नि भन्ने प्रश्नमा उहाँले आफु माथि छानविन भई सकेको र आरोप सत्य नभएको बताउनुभयो। आरोप लगाउनेहरुले फेरि पनि अनुसन्धान गरोस् मात्रै होइन म आफै अख्तियार जादैछु उहाँको उत्तर थियो।
करिब तीन दशक बेलायती विरुद्ध संघर्ष गर्नुएका गेसोको संस्थापक सभापति गुरुङले आव्हान गर्नुभयोे, ब्रिटिस साम्राज्यलाई तह लगाउने हो भने गेसोको मुलधार सभापति कृष्णकुमार राईको नेतृत्वमा सबै भुपू सैनिकहरु एकतावद्ध हुनुपर्दछ।
स्थानिय अचम गुरुङको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा गेसो पश्चिमाञ्चल अध्यक्ष हर्कबहादुर पुनसहित भुपूहरु र साल्मेडाडा वरपरका स्थानीयबासीहरुको समेत उपस्थिती रहेको थियो।