पोखरा, १९ श्रावण । उदयपुरको बेलका नगरपालिकाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । असार अन्तिम साताको अविरल वर्षापछि आएको बाढीबाट पीडित बनेका बेलका १ र २ नम्बर वडाका १ सय ५० परिवारलाई रेन्बो चिल्ड्रेन होम नेपाल र लायन्स क्लब अफ पोखरा लेकसाइडले सयुक्त रुपमा राहत वितरण गरेका हुन ।
बेलका विकास विकास समाज काठमाडौंको समन्वयमा आइतबार लायन्स क्लब अफ पोखरा लेकसाइड र रेन्बो चिल्ड्रेन होम नेपालले डेढ सय परिवारलाई राहतस्वरुप लगाउने कपडा, कम्बल, झुल, पानी शुद्धीकरणको औषधि, साबुनलगायत सामान वितरण गरेका हुन । यस्तै, सुत्केरी महिलाका लागि स्यानेटरी प्याड पनि वितरण गरिएको लायन्स क्लब अफ पोखराका लेक साइडका अध्यक्ष तथा रेन्बो चिल्ड्रेन होमकी संचालक गोमा ढकालले जानकारी दिइन ।
असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले त्रियुगा नदीको बाँध भत्काएपछि बेलका १ र २ डुबानमा परेका थिए । वडाका धेरै टोलमा राहत पुगे पनि धाराखाेला र कञ्चनजंघा टोलमा राहत पुगेको थिएन । पोखराबाट राहत लिएर बेलका पुगेको टोलीले धारापानी र कञ्चनजंघामै राहत वितरण गरेको हो । राहत वितरणका लागि लायन्स क्लब अफ पोखरा लेकसाइडका सोसियल मिडिया डाइरेक्टर खिम लामिछाने काजिको संयोजकत्वमा पाेखराबाट क्लबकी अध्यक्ष ढकाल सहित रेन्बो चिल्ड्रेन होमकी सचिव निर्मला कँडेल, रास्ट्रीय समाचार समितीका बरिस्ट पत्रकार हरि बास्तोला र काठमाडाैंबाट बेलका विकास समाजका अध्यक्ष थापा बेलका गएका थिए ।
बाढी र डुबानपछि कलको पानी खराब हुनुका साथै लामखुट्टेको त्रास बढेको छ । ‘पानीका कारण पीडितहरुको स्वास्थ्य जोखिममा परेको रहेछ” लायन्स क्लब पोखराका सोसल मिडिया डाइरेक्टर लामिछानेले भने, ‘लामखुट्टै पनि उस्तै । त्यसैले हामीले खाद्यान्न र कपडासँगै पानी शुद्धिकरणको औषधि र झुल वितरण गरेका छौं ।’
बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापा, सम्बन्धित वडाका वडाअध्यक्षहरु, टोली विकास समाजका पदाधिकारीको उपस्थितिमा राहत वितरण गरिएको हो ।
बेलका विकास समाजका अध्यक्ष महेन्द्र थापाले अहिलेसम्म राहत नै नपुगेको ठाउँमा राहत वितरण गरिएको बताए । ‘नगरपालिका आफैंले धेरै ठाउँमा राहत वितरण गरिसकेको रहेछ, धेरै टोलमा जीवन सामान्य बनिसकेको छ,’ अध्यक्ष थापाले भने, ‘तर दुइटा टोलमा राहत पुगेको रहेनछ, नगरपालिकासँगको समन्वयमा तीनै दुइटा टोलमा राहत वितरण गरियो ।’
रेन्बो र लायन्सद्वारा बेलकाका बाढीपीडितलाई राहत वितरण (फोटो फिचर)
