पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने व्यक्ति समातिएका छन् । चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ घर भई पोखरा कालिकाचोक बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका-१२ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
उनीहरुले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटपलगायतका सामानहरु चोरी गरेका थिए । प्रहरीले उनीहरुको साथबाट १७ थान मोनिटर, ९ थान सिपियु, ३ थान ल्यापटप बरामद गरेको छ।
पक्राउ परेका मध्ये थापाले सामान चोर्ने र चोरीको उक्त सामान काठमाडौंमा कम्युटर सोलुसन सञ्चालन गरेर बसेका गोपालीलाई बेच्ने गरेको पाइएको छ ।
विगत केही समयदेखि पोखराका वडा कार्यालयदेखि अन्य पसलहरु पनि धमाधम चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो । आइतबार कास्की प्रहरीले पोखराको सहिदचोकबाट थापालाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले चोरीका सामान किन्ने गोपालीलाई काठाडौंबाट पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख एसपी कार्कीका अनुसार गोपालीको पसलबाट चोरीका सामानमात्रै बिक्री वितरण हुँदै आएको पाइएको छ ।
थापाले पोखराका विभिन्न वडाबाट चोरी गर्ने र कलंकीमा रहेको गोपालीको पसलमा पुर्याउने गरेका थिए । काठमाडौं प्रहरीको सहयोगमा पक्राउ परेका गोपालीको पसलबाट पोखराका वडाबाट चोरी भएका सामानहरु फेला परेका छन् । प्रहरीले १७ थान मनिटर, ९ वटा सीपीयु र ३ वटा ल्यापटप बरामद गरेको छ ।
पोखराका वडा कार्यालयमा श्रृंखलावद्ध चोरी गरेको आरोपमा पक्राउ परेका थापा यसअघि पनि पटकपटक चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन् । अनुसन्धानका क्रममा उनी पहिलो पटक डाँका चोरी कसुरमा २०४६ देखि २०५१ सम्म केन्द्रीय कारागारमा थुनामा बसेको पाइएको छ ।
दोस्रो पटक २०७१ देखि २०७४ सम्म चोरी मुद्दामा केन्द्रीय कारागारमै जेल जीवन विताएका थिए । उनले ग्रामीण भेगमा यातायातको सुविधा नहुने भएकाले सहरी क्षेत्रका वडामा चोरी गर्ने गरेको बयान दिएका छन् ।