आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही आइन्दा अभद्र व्यवहार नगर्ने सर्तमा छुटेका छन् ।
ललितपुर प्रहरीले अभद्र व्यवहार नगर्ने कागज गराएर उनलाई थुनामुक्त गराएको हो । प्रहरीका अनुसार शाहीलाई यो सुध्रिने माैका हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आग्रहमै शाहीलाई थुनामुक्त गरिएको बताइएको छ ।
शाहीलाई मुद्दा चलाउन थालिएको जानकारी पाएपछि मन्त्री भट्टराईले गृह मन्त्रालयका उच्च अधिकारीहरुलाई शाहीलाई मुद्दा नचलाई रिहा गर्न आग्रह गरेका थिए ।
नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री भट्टराईमाथि शनिबार साँझ भएको दुर्व्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइसकेपछि शाहीले प्रहरीलाई समेत दुर्व्यवहार गरेका थिए ।
शाहीलगायतका युवाले गत शनिबार मन्त्री भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।
उनको समूहले गाली गरिरहँदा मन्त्री भट्टराई संयम देखिएका थिए । काठमाडाैँ आइसकेपछि मन्त्री भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका थिए । उनले आफ्ना कारण १५ मिनेट ढिला हुने गएकोमा माफी समेत मागिसकेका छन् ।
यता बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।