युएस-नेपाल न्युज, सिन्धुपाल्चोक । चीनको न्यालाम जिल्लाले सिन्धुपाल्चोकका बाढी तथा पहिरो पीडितका लागि सहयोग गर्ने भएको छ । न्यालाम जिल्लाले भोटेकोशी र बाह्रविसेमा गएको पहिरो र बाढीका कारण पीडित भएकाहरुलाई ५ सय थान टेण्ट र खाद्यान्न सहयोग गर्ने भएको हो ।
बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि बाह्रविसेतर्फबाट सामग्री लैजान सक्ने अवस्था छैन । भोटेकोशी गाउँपालिकामा खाद्यान्न अभावका साथै विस्थपितहरुलाई खान बस्न समस्या भइरहेको छ । समस्या सुल्झाउनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले चीनको न्यालाम जिल्लालाई सहयोगको पहल गरेपछि चीनले सहयोग गर्न लागेको हो ।
आज तातोपानी नाकामा भएको अनौपचारिक भेटघाट कार्यक्रममा न्यालाम जिल्लाका सिडियो मिस्टर फेङ लि वी ले आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । उनले साता दिनभित्र न्यालाम जिल्लाले सहयोग गर्ने सामग्री आइपुग्ने जानकारी दिए । – साभार