युएस नेपाल न्युज, काठमाण्डाै । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयबीच बुधाबार भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।
रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कुल, त्रिचन्द्र कलेजलगायतका क्षेत्रबाट पानी हार्भेस्टिङका लागि काम भइरहेकाे छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डीप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी गराउनुभयो ।
अन्तर्क्रियामा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी सङ्कलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिनुभयो । उहाँले डीप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने बताउनुभयो ।
काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्ने क्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताउनुभयो ।
सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले डीप ट्युबेलहरु प्रयोग नगर्न सुझाव दिनुभयो ।
संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इन्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डीप बोरिङको सट्टा प्राकृतिक उपायहरु अपनाउँदै पानी भर्न आग्रह गर्नुभयो । यस्तै सुशील श्रेष्ठले पोखरी सफा गर्न दुई वटा निकास राख्न सुझाव दिनुभयो ।
स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू ब्युँताउने उपायतिर लाग्न आग्रह गर्नु भएको थियो ।