युएस नेपाल न्युज, काठमाण्डाै । गएकाे २४ घण्टामा देशका विभिन्न ठाउँमा विपदका १५ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाको ज्यान गएको र सात जना घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रले जनाएको छ । यी घटनामा नौ वटा चौपायासहित ५० लाखभन्दा धेरैको क्षति भएको छ ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाझ ककनीमा रहेको एक घर वर्षाका कारण भत्किँदा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको घटनास्थलमै ज्यान गएको र अरु पाँच जना घाइते भएकाे केन्द्रले जनाएको छ ।
यस वर्ष मनसुन सुरु भएयता अर्थात् गएको जेठ ३० गतेपछि बाढी, पहिरो तथा चट्याङबाट मात्रै दुई सय पाँच जनाको ज्यान गइसकेको छ । विपदमा परेर ५४ जना हराइरहेका छन् भने एक सय ९४ जना घाइते भएका छन् । यस अवधिमा पहिरोबाट एक सय ८० जना, बाढीबाट पाँच जना र चट्याङबाट २० जनाको ज्यान गएको हो ।
पहिरोमा ४३ र बाढीमा ११ जना हराइरहेका केन्द्रले जनाएको छ ।