युएस नेपाल न्युज, काठमाण्डौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भई हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई पक्राउ गरेको छ ।
गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ बियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जबरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।