मौसमले साथ नदिँदा पहिरोमा हराईरहेकाहरुको खोजी कार्यमा समस्या

मौसमले साथ नदिँदा पहिरोमा हराईरहेकाहरुको खोजी कार्यमा समस्या
समाज

युएस नेपाल न्युज, सिन्धुपाल्चोक । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ।

त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो । पहिरोमा परेर हराइरहेकाहरुको खोजी सुरु गरिएको छ । हिजो दिनभरि खोजी गर्दा ११ जनाको शव भेटिएको थियो ।

२८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भइरहेको छ । हराइरहेकाहरुको खोजी सुरु गरिएको र शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किएका गाउँपालिकाले जनाएको छ ।

Post Comment