काठमाण्डौ – सरकारले बाढी पहिरोमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले बाढी पहिरोबाट कुनै परिवारको एक जनाको ज्यान गएमा दुई लाख रुपैयाँ र त्यही घरको अरु व्यक्तिको पनि ज्यान गएमा प्रतिव्यक्ति एक लाखका दरले राहत दिने निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै बाढी पहिरोमा परेर घाइते भएकाहरुको सबै उपचार खर्च सरकारले बेहोर्ने र उपचारमा ढिलाइ नगर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै अस्पतालबाट घर फर्किँदा यातायात खर्च र एक हजार बाटो खर्चसमेत दिने निर्णय भएको छ ।
बाढी पहिरोबाट घर पूर्ण क्षति भएमा वा जोखिम बढेर अर्को ठाँउमा बनाउनुपर्ने भएमा एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । यस्तै क्षति भएको घर पुनर्निर्माणको लागि सहुलियतमा काठ पनि उपलब्ध गराइने भएको छ ।