युएस नेपाल न्युज । उपत्यकामा निषेधाज्ञा एक साता लम्बिएको छ । उपत्यकाका तीनै जिल्लाले १७ भदौसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।
‘हामीले सर्वपक्षिय छलफल गर्दा सबै पक्षले थप्नुपर्नेमै जोड दिनुभयो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने,‘एक साताको अवधिमा संक्रमण दर घटेको र दुई सातापछि धेरै कम हुन्छ भन्ने विज्ञहरुको भनाई छ ।’
यसपटक निर्णय गर्नुअघि सबै स्थानीय तह, व्यवसायी लगायतसँग छलफल भएकाले थप कडाई गरिने उनको भनाई छ ।
गत ४ भदौदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । पहिलाे पटक ४ गतेदेिख १० गते बुधबारसम्मका लागि निषेधाज्ञा लागू गरिएकाे थियाे । निषेधाज्ञाको अवधिमा उपत्यकामा दैनिक दुई सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गरेकाले दुई सातापछि यसको प्रभाव देखिने सिडिओ दाहाल बताउँछन् ।
सामाजिक दुरी, मास्क तथा सेनिटाइजरको प्रयोग जस्ता नियमलाई अनिवार्य पालना गरे संक्रमण सहजै नियन्त्रण गर्न सक्ने भएकाले नियम पालना गरेर सहयोग गर्न उनले आग्रह गरेका छन् ।