चितवन । कोरोना संक्रमण फैलिएसँगै चितवनमा रगतको कमी भएको छ । भरतपुर रक्तसञ्चारमा रगतको अभाव भएपछि नेपाल युवा उद्यमी मञ्चले चितवन र नवलपुर जिल्लाका टोलटोलमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सोमबारदेखि सुरु भएको रक्तदान कार्यक्रममा दुई जिल्लाका आठ ठाउँमा एक सय २८ जनाले रक्तदान गरिसकेको युवा उद्यमी मञ्चका सदस्य सुमन कोइरालाले जानकारी दिए । यसबाट कोरोना महामारीका बेला पनि सुरक्षित तवरले रक्तदान गर्न सकिन्छ भन्ने सन्देशसमेत प्रवाह भएको उनले बताए ।
रगत अभावलाई पनि केही सहज बनाउन सकिन्छ कि भन्ने उद्देश्यले अभियान थालिएको मञ्चका निवर्तमान अध्यक्ष दाताराम घिमिरे बताउँछन् । ‘रगतको अवश्यकता पर्ने बिरामीका लागि तत्कालै रगत उपलब्ध होस् भनेर टोलटोलमा पुगी, भिडभाड नगरी, स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार रगत संंकलन गरिएको छ,’ उनी भन्छन्, ‘रक्तदान कार्यक्रम आयोजन गर्ने क्षेत्रमा स्थानीय संस्थासँग सहकार्य गर्छौं र बढीमा २० जना रक्तदाता मात्र जम्मा हुन्छन् । यसबाट रक्तदाताको ट्राभल हिस्ट्री र स्वास्थ्यका बारेमा अवगत हुन्छ । उनीहरूको तपाक्रमसहितको स्वास्थ्य जाँच पनि हुन्छ ।’
सामान्य अवस्थामा प्रतिदिन एक सय ५० युनिटसम्म रगत खपत भएको चितवनमा कोरोना कहरपछि ७० युनिट मात्र रगत खपत हुँदै आएको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल बताउँछन् । कोरोना संक्रमण बढ्दै जाँदा रक्तदान गर्नेको संख्या घट्दा केन्द्रमा रगत अभाव भए पनि यो अभियानले टेवा पुगेको उनको भनाइ छ ।