काभ्रे । बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् ।
बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलले जानकारी दिए ।
सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको पौडेलले बताए ।
‘घटनाको छोटो समयमा अपराधीलाई पक्राउ गर्न सफल भयौं,’ एसपी पौडेलले भने, ‘प्रहरीलाई हत्याको खबर आएको एक घण्टाभित्र सुदर्शन अधिकारी पक्राउ परेका हुन्।’
घरायसी झै – झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि पठाइएको पौडेलले बताए ।