दाजुबहिनिको घर भित्रै हत्या

दाजुबहिनिको घर भित्रै हत्या
समाज

खोटाङ । खोटाङमा वृद्धावस्थाका दाजुबहिनी घरभित्रै हत्या गरिएको अवस्थामा भेटिएका छन् ।

जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ का ७६ वर्षीय इन्द्र श्रेष्ठ र उहाँकी ६२ वर्षीया बहिनी गोपीमायाँ श्रेष्ठ घरभित्रै हत्या गरिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमाेरियाले जानकारी दिनुभयो ।

घटनास्थलको अवस्था हेर्दा तीन/चार दिन अगाडि धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन सक्ने उहाँले बताउनुभयो । जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव घरभित्र भेटिएको हो ।

वृद्धवृद्धा दाजुबहिनीको हत्याको कारण र हत्यामा संलग्नको पहिचान भएको छैन । गाईबस्तु भोकले कराउन थालेपछि छिमेकीले ढोका खोलेर हेर्दा उनीहरु मृत फेला परेका थिए । मृतकको शरीरमा जताततै धारिलो हतियारको चोट लागेको देखिएको छ । मृतक इन्द्र अविवाहित हुन् । बहिनी गोपीमायाँ भने लामो समयदेखि माइती घर फर्केर सामान्य पसल गरेर बस्दै आउनुभएको थियो ।

Post Comment