भक्तपुर । शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको धारिलो हतियार प्रहार गरी हत्यापछि सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
३ जनाको अलगअलग कोठामा शव भेटिएको थियो। आमा र छोरा दुबैको शव खटियामा र सुदिपको शव अन्तिम तलाको ढोकामा भेटिएको प्रहरीले जनाएको छ।
‘आमा र छोरा दुबैको टाउकोमा गहिरो चोट देखिएकोले सुदिपले दाउ प्रहार गरी हत्या गरेर आफूले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।
उनका अनुसार भित्तामा समेत रगतको छिर्का देखिएको छ। फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्दा दुवैको टाउकोमा गहिरो चोट छ भने सुदिपको बाहिरी चोट देखिँदैन।
घटनास्थलबाट दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। शवमा किरासमेत परिसकेकाले ४–५ दिन पहिले नै घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। सुदिपले वान्ता गरेको देखिएकाले उनले विष सेवन गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
भान्सामा रहेका भात, तरकारी लगायत केही खानेकुरामा पनि विषको जस्तो गन्ध आएकोले परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी गरेको ती अधिकारीले बताए।
प्रहरीका अनुसार कुकुर पनि मृत भेटिएको छ। कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
भक्तपुर प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएकाले घटनाको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने बताए। घटनाबारे भक्तपुर प्रहरीका साथै अपराध महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ। – नेपाल समय