काठमाडौंमा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको हो ।
रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए ।
रुघाखोकी, ज्वरो तथा स्वास फेर्नमा कठिनाई भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । ‘स्वाइन फ्लू हो कि भन्ने शंका लागेर रक्त परीक्षण गर्दा पुष्टि भयो र तत्काल अस्पताल भर्ना गरिएको हो’, डा. पुनले बताए ।
डा. पुनका अनुसार २/३ दिनदेखि रुघा, खोकी तथा हल्का ज्वरोसहितका लक्षण लिएर अस्पताल आउनेको संख्या बढेको छ । स्वाइन फ्लूकै संक्रमणका कारण यस वर्ष अस्पताल नै भर्ना भएकीे उनी दोश्रो हुन् भने यस मौसममा पहिलो हुन् ।
यसअघि गत वैशाखमा स्वाइन फ्लूको संक्रमणकै कारण ३० वर्षीय एक पुरुष अस्पताल भर्ना भएका थिए । ज्वरो सहित छाती दुख्ने समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
उनीसँगै अन्य आधा दर्जन मानिसमा पनि स्वाइन फ्लूको संक्रमण देखिएको थियो र त्यसमध्ये तीन जनाले विभागबाटै औषधि समेत लगिसकेको चिकित्सकको भनाई छ ।
‘अहिले रोग संक्रमण दर धेरै हुने समयमा फाट्पुट् रुपमा इन्फ्लुएञ्जा भाइरसको संक्रमण देखिनु सामान्य हो’, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सल्टेन्ट माइक्रोवायोलोजिस्ट विष्णुप्रसाद उपाध्यायले भने,’ यसमा खतरनाक प्रजाती नदेखिएकोले आत्तिईहाल्नु पर्ने अवस्था छैन’ ।
विशेषगरी जाडो सकिएर गर्मी सुरु भएलगत्तै वर्षाको समयमा यस्ता रोगका संक्रमण देखिने उनले बताए । उनक अनुसार हाल र्यालमा देखिएको यस्तो संक्रमण १० /१२ जनामा देखिएको छ । यस्ता संक्रमणको रोगी अझै धेरै हुनसक्छ ।