चितवनमा पछिल्लो २ सातामा स्क्रब टाइफसको संक्रमित उल्लेख्य बढेको छ । साउन महिना लागेयता मात्रै ३७ जना नयाँ संक्रमित भेटिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न अस्पतालमा गरी १०९ जनामा गरिएको परिक्षणमा ३७ जनामा खसंक्रमण भेटिएको हो ।
जनस्वास्थ्य कार्यालयका भेन्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए केसीका अनुसार भरतपुर अस्पतालमा १८ जना, नारायणी सामुदायिकमा १६ जना र बकुलहर अस्पतालमा ३ जनामा स्क्रब टाइफसका संक्रमित भेटिएका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले छोटो अवधीमा यति धेरै बिरामी भेटिनु डरलाग्दो भएको प्रतिक्रिया दिए ।
प्रमुख झाले भने, ‘यो सख्या व्यापक हो, यसअघि यति धेरैको संख्यामा स्क्रब टाइफस जिल्लामा देखिएको थिएन ।’ गएको वैशाख र जेठ महिनामा २/२ जना, असारमा ५ जनामा स्क्रब टाइफसको संक्रमण भएको भेटिएको थियो । तर, साउन महिना ठूलो संख्यामा स्क्रब टाइफसको संक्रमण देखिनु खतराको संकेत भएको फिजिसियन डा. भोजराज अधिकारीले बताए ।
टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग चितवनमा २ वर्ष अघिदेखि देखिन थालेको हो । नेपालमै सबैभन्दा बढी स्क्रब टाइफस संक्रमित पनि चितवमै छन् ।
‘माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ । यो जुम्राभन्दा पनि सूक्ष्म हुन्छ । प्रायः नाङ्गो आँखाले देख्न सकिदैन् । यो मुसाको कानमा बस्छ । घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुन्छ ।