डा. गोविन्द केसीको सर्मथनमा देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार

डा. गोविन्द केसीको सर्मथनमा देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिस्कार
स्वास्थ्य

१९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन् ।

केसीले उठाएका माग सम्बोधनका लागि दबाव दिँदै सरकारी चिकित्सक संघ (गोडान)को आह्वानमा चिकित्सकहरुले सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । संघले बाध्य भएर सेवा बहिस्कार गर्नुपरेकाले यसबाट पुग्ने असुविधाप्रति सरकार नै जिम्मेवार हुनुपर्ने पनि जनाएको छ ।

तर अस्पतालमा हुने बिरामीको चाप र भर्ना भएर बसेका बिरामीको उपचार तथा सहयोगका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराएको संघले जनाएको छ ।

सरकारी चिकित्सकहरुले सेवा बहिस्कार गरेपछि बिरामीलाई समस्या भएको छ । उपचारका लागि अस्पतालमा पुगेका बिरामी सेवा नपाएर निजी अस्पतालतर्फ लागेका छन् ।

यसैबीच सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच पाँच दिनयता वार्ता हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १९ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ ।

उनको शारीरिक अवस्था निकै कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Post Comment