पोखरामा सेतो पुतलीको त्रास: धेरै बालबालिका प्रभावित,पूर्ण रुपमा आँखाको ज्योती गुम्ने खतरा

पोखरामा सेतो पुतलीको त्रास: धेरै बालबालिका प्रभावित,पूर्ण रुपमा आँखाको ज्योती गुम्ने खतरा
स्वास्थ्य

सेतो रंगको पोथी जातीको पुतलीको पखेटामा पाइने एक प्रकारको विषालु धूलोका कारण बालबालिकाको आँखामा समस्या देखिन थालेको छ ।
सेतो पुतलीका कारण आँखामा देखिने समस्याको ४८ घन्टाभित्र उपचार नपाए पूर्ण रुपमा आँखाको ज्योती नै गुम्ने चिकित्सकहरुले बताएका छन् ।

पोखरामा देखिएको यस समस्याबाट धेरै बालबालिका प्रभावित बनेका छन् । वर्षायाम सकिनासाथ देखिने यस समस्याबाट हालसम्म ५ जना बालबालिका त्रिवि शिक्षण अस्पतालमा उपचार गराइसकेका छन् ।

सामान्यतः ९ महिनाको बालबालिकामा आँखामा देखिएको यस समस्या यसपटक भने ४८ दिनकै नवजात शिशुमा समेत पनि देखिएको छ ।

सेतो रंगको पुतलीको कण आँखामा प्रवेश गरेपछि आँखा रातो हुने र त्यसपछि आँखाको नानी सेतो हुँदै जान्छ । यदि समयमै उपचार नपाए आँखा आकार सुकेर सानो हुने आँखारोग विशेषज्ञ डा.रन्जु खरेल बताउँछिन् । यद्यपि, यो सरुवा भने नभएको उहाँको भनाइ छ ।

सन् १९७५ देखि नेपालमा देखिन थालेको यो समस्या दुई/दुई वर्षको अन्तरमा देखिने चिकित्सक बताउँछन् । यही समस्या सन् २०१५ मा १० जना बालबालिकामा देखिएको थियो । यो समस्या सबैभन्दा बढी पोखरामा देखिएको छ ।

चिकित्सकका अनुसार नेपालमा यस प्रकारको रोगको उपचार गराउने अस्पतालकै पनि अभाव छ । हाल त्रिवि शिक्षण अस्पताल र तीलगंगा अस्पतालमा मात्र यसको उपचार सम्भव रहेको छ ।

रेटिना विशेषज्ञ डा. प्रताप कार्कीका अनुसार सेतो पुतलीको विषालु कणका कारण आखाँको भित्री भागमा जमेको पीपलाई शल्यक्रियामार्फत निकालेर उपचार गरिन्छ । शल्यक्रियापछि आँखा ठीक छ/छैन भनी थाहा पाउन भने दुईदेखि तीन महिनासम्म लाग्ने गर्दछ ।

तर, सेतो पुतलीको पखेटामा पाइने कणका कारण भएको हो कि भन्ने अनुमान गरिए पनि पुतली नै कराक हो वा अरु केही भन्ने अझै किटान नभएको रेटिना विशेषज्ञ डा.सगुन नारायण जोशीले बताए ।

सेतो रंगको पोथी जातीको पुतलीको पखेटामा पाइने कणका कारण पोखरामा देखिएको यो समस्या अरु जिल्लामा पनि फैलन सक्ने जोखिम उच्च रहेको भन्दै चिकित्सकहरुले पुतलीबाट बालबालिकालाई टाढा राख्न सल्लाह दिएका छन् ।

Post Comment