नेपाल मेडिसिटीले एनआरएन र उनीहरुको परिवारलाई सहुलियत दिने

नेपाल मेडिसिटीले एनआरएन र उनीहरुको परिवारलाई सहुलियत दिने
स्वास्थ्य

गैह्रआवासीय नेपाली (एनआरएन) र उनीहरुका परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार सहुलियत पाउने भएका छन्।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र गैह्रआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको उपस्थितिमा दुवै संस्थाका कार्यकारी अधिकृतहरु नेपाल मेडिसिटीका सुधाकर जयराम र गैह्रआवासीय नेपाली संघका डा. हेमन्तकुमार दवाडीले एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

स्वस्थ नागरिक बनाउन आफूले नेपाल मेडिसिटी अस्पताल स्थापना गरेको बताउँदै नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. महतोले रोगी मात्र होइन स्वस्थ्य नागरिक पनि वर्षमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गर्न आउनुपर्ने बताए।

गैह्रआवासीय नेपाली संघका अध्यक्ष भट्टले नेपालीहरुलाई उपचारमा थप सहजता प्रदान गर्न आफूहरुले मेडिकल सुविधा सहितको हेलिकप्टर सेवा शुरु गर्न लागेको र त्यसका लागि पनि नेपाल मेडिसिटीसँग सहकार्य गर्ने बताए।

कार्यक्रममा गैह्रआवासीय नेपाली संघका उपाध्यक्ष सपिला राजभण्डारीले संसारभर छरिएर रहेका नेपाली र उनीहरुको परिवारका सदस्यहरुले आफ्नो उपचारका लागि नेपालमै उत्कृष्ट गन्तब्य प्राप्त गरेको बताए।

नेपाल मेडिसिटीका कार्यकारी अधिकृत सुधाकर जयरामले अस्पताल स्थापना गर्नुको उद्देश्य तथा हालसम्मका उपलब्धीका बारेमा चर्चा गरे।

उपचारका लागि विदेश जाने योजना बनाएकाहरु पनि एकपटक मेडिसिटीमा स्वास्थ्य परीक्षण गर्न आउने गरेको अस्पताल महाप्रबन्धक विजय रिमालले बताए। विशेषगरी केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाल मेडिसिटीले मुक्तिनाथमा सुविधा सम्पन्न आईसियु, जनकपुर र काठमाडौमा मेडिकल ब्याकअप दिएको पनि उनले बताए।

एनआरएन र उनीहरुको परिवारका सदस्यहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचारमा छुट सहित सुविधायुक्त उपचार सेवा प्राप्त गर्नेछन् । यसका लागि एनआरएनको परिचयपत्र देखाउनु पर्ने र परिवारका सदस्यहरुको हकमा नाता खुल्ने कागजात पेश गर्दा हुने सम्झौतामा उल्लेख गरिएको छ ।

Post Comment