कर्मचारी निस्कासन गरिएको विरोधमा कर्मचारी युनियनको तालाबन्दीका कारण मनिपाल शिक्षण अस्पताल ठप्प भएको ९ दिन पुगेको छ।
अस्पतालको इमर्जेन्सी बाहेकका सम्पूर्ण सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन्। कर्मचारी युनियनको बेवास्ताका कारण अस्पतालको ताला खुल्न नसकेको अस्पताल व्यवस्थापनले जनाएको छ।
अस्पतालका प्रशासन तथा मानव संशाधन प्रमुख भानु भारद्वाजले अस्पतालले निष्कासन गरेका कर्मचारीलाई फिर्ता नलिने भन्दै ताला खोल्न अटेरी गरे अदालत जाने बताएका छन्।
‘अस्पताल प्रशासन र मन्त्रालय सकारात्मक भए पनि ट्रेड युनियन तयार छैन’, बिहीबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘हडतालमा निष्कासित कर्मचारीभन्दा पनि अरुको भूमिका बढी छ।’
गल्ती गर्ने कर्मचारीले सजाय पाएको भन्दै उनले कोही निर्दोष भए अदालत जान तर अस्पताल बन्द नगर्न आग्रह गरे। अस्पतालले कर्मचारी हटाउने निर्णय निकै सोचेर लिएकाले कुनै पनि हालतमा कर्मचारी फिर्ता नलिएको बताएको छ।
आर्थिक हिनामिना गरेको भन्दै अस्पताल प्रशासनले जेठ ७ गते ४ जना कर्मचारीलाई हटाएको थियो। उनीहरुको पुनर्वहाली गर्नुपर्ने माग गर्दै अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मनिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्तरुपमा नौ दिनअघि अस्पतालमा तालाबन्दीको घोषणा गरेका थिए।
अस्पतालका मानव संशाधन प्रमुख भारद्वाजले प्रशासन र कर्मचारीबीच दूरी रहेको स्विकार्दै धेरै कर्मचारी कुरै नबुझी आन्दोलनमा उत्रिएको बताए। उनले युनियनले ४ जनालाई सजायबाट जोगाउन ओपिडीमा दैनिक आउने एक हजार बिरामीलाई सजाय दिइरहेको बताए।
प्रशासनले प्रमाणसहित गरेको निर्णयमाथि आपत्ति भए कानुनी प्रक्रियाबाट अघि बढ्ने अस्पताल प्रमुख विजय सिङ्दीले बताए।