जोनसोन बेबी पाउडरका कारण गर्भाशयको क्यान्सर भएको २२ महिलाको दाबीलाई सही ठह–याउँदै अदालतले कम्पनीलाई पाँच खर्ब रुपैयाँ तिराउने आदेश दिएको छ ।
अमेरिकाको मिसूरीस्थित सेन्ट लुइस अदालतको जुरीले ठूलो फर्मासुटिकल जोनसोन एन्ड जोनसोन कम्पनीमाथि क्षतिपूर्तिको आदेश दिएको हो ।
जोनसोनको बेबी पाउडरका विरुद्ध नौ हजारवटा मुद्दा दर्ता गरिएका छन् ।
कम्पनीले आदेशमाथि गहिरो निराशा व्यक्त गर्दै अपील गर्ने बताएको छ ।
६ हप्ता चलेको पुर्पक्षमा महिला र उनीहरूको परिवारले बेबी पाउडर तथा अन्य टाल्क उत्पादनहरू दशकौंसम्म प्रयोग गर्दा गर्भाशयको क्यान्सर भएको दाबी गरे ।
टाल्क पाउडरमा आस्बेस्तोस नामक पदार्थ रहेको कम्पनीलाई थाहा भएको तर प्रयोगकर्तहरूलाई यसको जोखिमका बारेमा नबताएको महिलाका वकिलहरूले आरोप लगाए ।
जोनसोन एन्ड जोनसोनले आफ्ना उत्पादनमा आस्बेस्टोस नभएको र त्यसबाट क्यान्सर नहुने भनी अडान लिएको छ ।