गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको आयोजना हुँदैछ ।
‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ नाम दिइएको सम्मेलन २० देखि २२ सेप्टेम्बरसम्म चल्नेछ । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्नुहुने कार्यक्रम छ ।
एनआरएनए आईसीसीको आउँदो महिना नेपालमा हुने वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा हुन लागेको पहिलो विश्व स्वास्थ्य सम्मेलनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
मन्त्री यादव नेपाल सरकारको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार अमेरिका प्रस्थान गर्नुभएको छ ।त्यही अवसरमा मन्त्री यादवले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएकोे हो ।
शुक्रबार सुरु हुने सम्मेलनको २१ सेप्टेम्बरमा मन्त्री यादवले उद्घाटन गर्नुहुनेछ । त्यसका लागि मन्त्री यादव बिहीबार नै सम्मेलनस्थल एटलान्टा पुग्ने र शनिबारसम्म सम्मेलनमा सहभागी हुनुहुनेछ ।
मन्त्री यादव शनिबार नै महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने कार्यतालिका छ । २२ र २३ सेप्टेम्बरमा मन्त्री यादव महासभाको बैठकमा भाग लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।