थप दुई जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

थप दुई जनामा कोरोनाभाइरसको संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो
स्वास्थ्य

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालका कूल संक्रमितको संख्या ५९ पुगेको छ । यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।

संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ । कोभिड–१९ सङ्क्रमणका लागि जारी बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन सो समय औषधि पसलबाहेक सम्पूर्ण पसल व्यवसाय बन्द गराउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार १० बजेपछि अनुमतिबाहेकका सवारी साधन हिँडडुलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी औषधि पसलबाहेक फलफूल, दूध, तरकारी, माछा मासुलगायत अत्यावश्यक सेवाका सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गर्न आग्रह गरेको छ ।

यसअघि जिप्रकाले अपराह्न ४ बजेदेखि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गराउँदै आएको थियो । बन्दाबन्दीको अवज्ञा गरेमा कानूनबमोजिम कारवाही गरिने सहायक प्रजिअ उपाध्यायले बताए ।

पुजारीको स्वाब सङ्कलन

बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगी, मन्दिरका पुजारी र कर्मचारी गरी सात जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार मन्दिर परिसरबाट हिन्दू धर्मगुरुसहित जिल्लाका विभिन्न स्थानीय तहका एकान्तबासमा रहेका व्यक्ति गरी ४० जनाको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जको दशगजामा २३ दिन एकान्तबास बसेर घर फर्किएका बैजनाथ गाउँपालिकाका ११ , डुडुवाको हिरमिनियास्थित एकान्तबासमा रहेका १५ , नेपालगञ्ज उपमहानगरपालिकाका १३, उदयपुरका तीन जनालगायतको स्वाब सङ्कलन गरिएको छ ।

Post Comment