थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो
स्वास्थ्य

काठमाडौं । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

Post Comment