काठमाडौँ, ३१ जेठ । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन् । हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो ।
यही जेठ २८ गते पर्सामा एक पुरुषको शव भेटिएको थियो । नारायण्ी अस्पताल वीरगञ्जमा शव परीक्षणका क्रममा स्वाब सङ्कलन गरिएको र सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको डा गौतमले जानकारी दिनुभयो ।
यस्तै डिस्चार्ज हुनेको सङ्ख्या भने ३६ पुगेको छ । हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । त्यसमा ८२२ पुरुष र ९१ महिला रहेका छन् । निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ देखिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख २७ हजार २८८ पुगेको छ । यस्तै आरडिटी परीक्षणको सङ्ख्या एक लाख ९० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण मात्रै दुई हजार ५२० को गरिएको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९७ पुगेको छ ।
०००
कर्णालीमा ९१६ जना कोरोना सङ्क्रमित
कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९१६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका आठ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको महाशाखा प्रमुख डा तिवारीले बताउनुभयो । सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ ।
त्यसैगरी आज दैलेख अस्पतालबाट पाँच र दुल्लु अस्पतालबाट चार गरी नौ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या ९१ पुगेको र हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको सङ्ख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।