सबै संस्थाका स्वास्थ्यकर्मी कसरी भए कोभिड संक्रमित ?

सबै संस्थाका स्वास्थ्यकर्मी कसरी भए कोभिड संक्रमित ?
स्वास्थ्य

युएस नेपाल न्युज, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । यसअघि संक्रमितमा लक्षण नदेखिएपनि अहिले भेटिएका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने लगायतका लक्षणहरु देखा पर्न थालेका छन् । साथै साउनयता ५ जनाको मृत्यु भएको छ । असार अन्तिम सातामा बागेश्वरी र वागवानामा युनिसेफले स्वास्थ्यकर्मीका लागि गोष्ठी सञ्चालन गरेको थियो । खोप कार्ययाजनासम्बन्धी त्यो कार्यक्रममा रौतहटबाट आएकास्वास्थ्य क्षेत्रका दुई अधिकारीले सहजीकरण गरेका थिए ।

नगरपालिकाका स्वास्थ्य संयोजक योगेन्द्रप्रसाद पंजियारले भने, ‘नगरक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिने उहाँहरु दुबैमा कोरोना संक्रमण पुष्टि भयो । त्यसको केही दिनपछि हाम्रा एकजना स्वास्थ्यकर्मीमा संक्रमण देखा पर्‍यो । त्यही कार्यक्रमबाट स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलिएको हो कि भन्ने लाग्छ ।’

कार्यक्रमका सहजकर्तामा कोरोना संक्रमण पुष्छि भएकाले स्वास्थ्यकर्मीमा देखिएको कोरोना संक्रमणको स्रोत त्यही हुनसक्ने नगरप्रमुख लोकनारायण यादवले बताए । ‘स्वास्थ्यकर्मी संक्रमित भएकाले समुदाय स्तरमा संक्रमण फैलनसक्ने जोखिम रहेकै कारण स्वास्थ्य चौकी बन्द गर्ने निर्णयमा पुगेका हौं,’ उनले भने ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. मदन उपाध्यायले पनि स्वास्थ्यकर्मीहरुमा संक्रमण देखा पर्नु समुदायका लागि बढी जोखिमको संकेत भएको बताए । ‘स्वस्थ्यकर्मीमा देखिएको संक्रमणको स्रोत कि क्वारेन्टिन हो कि त चेकजाँचको क्रममा सर्वसाधरणसँगको प्रत्यक्ष सम्पर्क नै हो’ उनले भने, त्यसैले समुदाय स्तरमा संक्रमण फैलनसक्ने जोखिम पनि बडेको छ ।’

नगर भित्रका सबै स्वास्थ्य संस्था बन्द: सबै स्वास्थ्यचौकीका एक÷एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्वास्थ्य संस्था बन्द गरेको छ ।

‘नगरपालिकाभित्र चार वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य चौकी छन् । सबै स्वास्थ्य संस्थामा काम गर्ने एक÷एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । नगरपालिकामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ,’ पंजियारले अनलाइनखबरसँग भने, ‘संक्रमणको जोखिम न्यूनिकरणका लागि सबै स्वास्थ्य संस्था बन्द गर्ने निर्णयमा पुगेका हौं ।’

पंजियारका अनुसार नगरपालिकाभित्र ३२ स्वास्थ्यकर्मी छन्, जसमध्ये तीन जना सिनियर अहेव, २ जना अनमी र एक जना अहेवमा संक्रमण पुष्टि भएको छ । ६ जनामा संक्रमण पुष्टि भएपछि अन्य स्वास्थ्यकर्मी होम क्वारेन्टिनमा बसेका छन् र उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

सर्वसाधारण मर्कामा: नगर क्षेत्रभित्रका सबै स्वास्थ्य संस्था बन्द भएपछि सर्वसाधरण भनेमारमा परेका छन् । लगातारको वर्षाका कारण भाइरल ज्वरो, रुघा खोकी, झाडापखाला, घाउखटिरा जस्ता समस्या बढ्दो छ । त्यही बेला स्वास्थ्य चौकीहरु बन्द हुँदा उपचार पाउनबाट वञ्चित बनेको स्थानीयहरुले बताएका छन् ।

नियमित चेक जाँच गराउन आउने गर्भवती, दीर्घरोगीहरु समेत उपचार सेवाबाट प्रभावित बनेको स्थानीय पार्वती खनालले बताइन् । स्वास्थ्य चौकीहरु बन्द हुँदा महँगो शूल्क तिरेर निजी क्लिनिकमा जानु परेको स्थानीयको गुनासो छ ।

 

 

Post Comment