मास्क नलगाइ हिँड्ने २ लाखभन्दा धेरैलाई होल्ड, ९ हजार जनालाई जरिबाना

मास्क नलगाइ हिँड्ने २ लाखभन्दा धेरैलाई होल्ड, ९ हजार जनालाई जरिबाना
स्वास्थ्य

युएस नेपाल न्युज, काठमाण्डाै – तपाईँ घरबाहिर निस्किँदै हुनुहुन्छ? साथमा मास्क नछुटाउनु होला । कोरोनाको जोखिम बढेकाले घरबाहिर मास्क नलगाइ हिँड्नेलाई प्रहरीले धमाधम कारबाही गर्न थालेको छ ।

देशभर अहिलेसम्म मास्क नलगाइ हिँड्ने दुई लाख आठ हजार एक सय ५८ जनालाई प्रहरीले होल्ड गरेको छ । यसमध्ये एक  लाख ८२ हजार तीन सय ४४ जनालाई सम्झाइ बुझाइ छोडेको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै १६ हजार पाँच सय ४३ जनालाई मास्क नै दिएर लगाउने तरिका सिकाएर घर फर्काइएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका सूचना अधिकारीका अनुसार नाै हजार दुई सय ६९ जनालाई भने जरिबाना तिराइएको छ । उनीहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार सङ्क्रामक रोगसम्बन्धी नियम उल्लङ्घन गरेको कसुरमा प्रतिव्यक्ति एक सय रुपैयाँ जरिबाना तिराइएको अधिकारीले बताउनुभयो ।

यस्तै काठमाण्डौ उपत्यकामा मात्रै चार सय ३३ जनालाई जरिबाना तिराइएको छ । उपत्यकामा अहिलेसम्म १२ हजार तीन सय ९९ जनालाई मास्क लगाउन सम्झाइ बुझाइ गरिएको छ ।

काेरोना सङ्क्रमणको जोखिम झनै बढ्दै गएकाले अब थप कडाइ गर्ने र त्यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गएको असार २२ गते घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन र नलगाए कारबाही गर्न निर्देशन दिएको थियो । अब थप कडाइ गर्ने मन्त्रालयकाे तयारी छ। उज्यालोले खबर छापेको छ ।

Post Comment