युएस नेपाल न्युज, काठमाण्डौ । नेपालमा आज थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश २ मा ७० जना र गण्डकी प्रदेशमा ८ गरी ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेश २ को वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी पनि परेका छन् । यस्तै गण्डकी प्रदेशमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ४ जना तथा बाग्लुङ र तनहुँका दुई/दुई जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय ८८ पुगेको छ । तर आज सङ्क्रमण पुष्टि भएकाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । मन्त्रालयले अहिलेसम्म ४ लाख ५२ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १३ हजार ३ सय १० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
जसमध्ये १६ हजार ४ सय ९३ जना निको भएका छन्, ६ हजार ७ सय ३८ जना आइसोलेशनमा छन् । ७९ जनाको ज्यान गएको छ । प्रदेश २ मा मात्रै अहिले पनि ३ हजार १ सय ४४ जना आइसोलेशनमा छन् भने ३ हजार ३ सय ५७ जना निको भएका छन् । ३३ जनाको ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ मा ४ हजार १ सय ८१ जना निको भएका छन् ।