थापाथलीको प्रसूति गृहमा २०० आइसोलेशन शैया बनाइने

थापाथलीको प्रसूति गृहमा २०० आइसोलेशन शैया बनाइने
स्वास्थ्य

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।नेपालमा कोभिडको सङ्क्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए ।  अस्पतालमा अहिलेसम्म सम्भावित संक्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो। अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । उनले भने, “सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।”

अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको सङ्ख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन । सरकारले चार महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको सङ्ख्या कम नभएको अस्पतालको तथ्याङ्कले देखाएको छ । अहिले पनि दैनिक ६० देखि ७० जनाको डेलिभरी हुने गरेकामा शल्यक्रियाको सङ्ख्या २० देखि ३०  छ । उनले भने, “सामान्य डेलिभरी र शल्यक्रिया दुवै सामान्य अवस्थाभन्दा कम छैन ।”

अस्पतालले कोभिड–१९ को सङ्क्रमित र अस्पतालका कर्मचारीलाई बचाउनका लागि आवश्यक सतर्कता अपनाएको छ । अस्पतालमा बिरामीलाई एक जना मात्रै कुरुवा बस्न पाउने र अस्पताल परिसरमा बस्दा सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छ । अस्पताल छिर्न जो कोहीले हात धुनुपर्ने अनिवार्य गरिएको छ । अस्पतालको परिसर साँघुरो भए पनि सकेसम्मको दूरी कायम गरिएको उनले बताए । अस्पतालले दिनमा तीन पटकसम्म निसङ्क्रमण गर्ने गरिएको छ । उनले भने, “यहाँका सेवा नियमित गरेर सङ्क्रमण पनि नफैलियोस् भन्ने गरी अस्पतालले काम गरिरहेको छ ।”

अस्पतालले अहिलेसम्म कुनै पनि सेवा अवरुद्ध गरेको छैन । सामान्यावस्थामा पनि अरु जिल्लाका अस्पतालबाट रिफर भएर धेरै बिरामी समेत आउने गरेका थिए । अहिले विभिन्न निजी संस्थाले सेवा अवरुद्ध गरेका कारण अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । अस्पतालमा केही समय पहिले तीन चिकित्सकसहित नौ कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको थियो । त्यस्तो समयमा कुनै कुनै वार्ड मात्रै सिल गरिए पनि अस्पताल नियमित रुपमा सञ्चालनमा थियो । उनले भने, “संक्रमण देखिएकाको कन्ट्याकमा आएकाको खोजी गरेर परीक्षण गर्ने र त्यस ठाउँलाई क्लोरिनले सफा गरेर पुनः सञ्चालनमा ल्याएका छौँ ।”

अस्पतालमा आउने बिरामीमध्ये संक्रमणको जोखिम देखिएकाको मात्रै परीक्षण गरिँदै आएको उपनिर्देशक अधिकारीले जानकारी दिए । कोभिडका कुनै लक्षण देखिएका बिरामी तथा हटस्पटबाट आएका वा सङ्क्रमितको नजिकको सम्पर्कमा रहेकाको अनिवार्य परीक्षण गरिँदै आएको छ । संक्रमणको शङ्का लागेकाहरुलाई अस्पतालले रिपोर्ट नआउँदासम्म छुट्टै राख्दै आएको छ ।

उनीहरुको पोजेटिभ आएमा आइसोलेशन शय्यामा र नेगेटिभ आएमा अरु बिरामीसँगै राखेर उपचार गरिन्छ । अस्पतालमा कार्यरत कर्मचारीलाई पहिलो चरणको सुरक्षा सामग्री मास्क, फेस शिल्ड र  पञ्जाको व्यवस्था गरिएको छ । बिरामीको उपचारमा संलग्न  स्वास्थ्यकर्मीलाई भने अर्को तहको सुरक्षा सामग्रीको व्यवस्था गरिँदै आएको छ । उनले भने, “सम्भावित संक्रमितको समेत उपचार गर्नेहरुलाई पिपिईलगायतका सबै आबश्यक सामग्री उपलब्ध गराइएको छ ।”

Post Comment