काठ्माण्डौ । उपप्रधान, गृह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोनाको पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीकाे गएको आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पीसीआर परीक्षण गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सीसीएमसीको बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुको हिजो बेलुका परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो ।
बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गएको बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै जना आइसोलेशनमा बस्नुभएको थियो ।