माेरङ । विराटनगरमा कोरोना भाइरसबाट दुईजना महिलाको ज्यान गएको छ । एक जनाको विराटनगरमा रहेको कोशी अस्पतालमा र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।
कोशी अस्पतालमा हिजो बेलुकी ज्यान गुमाएकी विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको आज बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ ज्यान गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ की ४३ वर्षीया कोरोना सङ्क्रमीत महिलाको पनि हिजो बेलुकी ज्यान गएको हो । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको छ ।
महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । जसमा १२ जना प्रदेश २ घर भएका छन् ।