डोटीमा एक महिनामा ३० जनामा स्क्रब टाईफस

डोटीमा एक महिनामा ३० जनामा स्क्रब टाईफस
स्वास्थ्य

डोटी । डोटीमा एक महिनाको अवधिमा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

जिल्ला अस्पताल डोटीका अनुसार गएको साउन २० गतेदेखि भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा ३० जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन् ।

सङ्क्रमण देखिएकामध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसीयू आवश्यक पर्ने भएकाले जिल्लाबाहिरका सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पताल डोटीका एमडीजीपी डाक्टर प्रमोद भट्टले बताउनुभयो ।

‘सङ्क्रमण देखिएका केही बिरामीमा जटिल समस्या देखिएको छ, थप उपचारका लागि जिल्लाबाहिर पठाएका छौँ, केहीको जिल्लामै उपचार भइरहेको छ’, उहाँले भन्नुभयो ।

स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालय डोटीमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

Post Comment