विराटनगर, ७ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, मोरङद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता राईले तोकिएको समयभित्र संविधानले दिएको अभिभारा पूरा गर्न सरकारले कार्यतालिका सार्वजनिक गरेको जानकारी गराउनुभयो ।
उहाँले आगामी २०७४ माघ ७ गतेभित्रै अभिभारा पूरा गर्न आगामी मङ्सिरमा स्थानीय निकाय, त्यसपछि प्रादेशिक र सङ्घीय निर्वाचन गराउन सरकार दृढ सङ्कल्पित रहेको स्पष्ट पार्नुभयो । उहाँले निश्चित समयमै सरकारले ऐनकानुनको निर्माण, संशोधनका साथै संवैधानिक आयोग लगायत संरचना निर्माण गर्ने जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “संसदीय समिति, संसदीय विशेष समिति गठनको प्रक्रिया सुरु भइसकेकाले मुलुकमा अब राष्ट्रिय सहमतिको आधार तयार भएको छ ।”
संविधानको पुनःलेखनलाई ‘बटमलाइन’ नबनाउन मोर्चालाई आग्रह गर्दै उहाँले मुलुकलाई समाधान दिनेतर्फ अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अधिकांश माग पूरा भइसकेको बताउँदै मन्त्री राईले मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार लगायत विषयमा सरकारले मोटो रकम उपलब्ध गराएको र मागअनुरुप संविधानको संशोधनका साथै अन्य समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक समिति पनि गठन गरेको उल्लेख गर्नुभयो ।
उहाँले मोर्चालाई दुई पटक पत्राचार गरेपछि यतिखेर मोर्चा वार्ताका लागि तयार भएकामा यसलाई सरकारले स्वागत गरेको जानकारी गराउनुभयो ।