काठमाडौँ, ८ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाँडै नै सूचना प्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न लागेको बताउनुभएको छ ।
लिभिङ विथ आइसिटी पत्रिकाले यहाँ आज आयोजना गरेको ‘सुस्मित इन्टरनेसनल आइसिटी स्टार्टअप अवार्ड– २०१६’ सम्मान कार्यक्रममा सञ्चारमन्त्री राईले सूचना प्रविधिको पूर्वाधार विकास गर्न र इन्टरनेट सेवालाई विस्तार गर्नका लागि प्याकेज घोषणा गर्न लागिएको उल्लेख गर्नु भयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री राईले आइसिटीलाई देशको विकासमा जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म राज्यले नचिनेको प्रतिभालाई आइसिटी पत्रिकाले सम्मान गरेकाप्रति प्रशंसा गर्दै मन्त्री राईले निकट भविष्यमा राज्यले सूचना प्रविधिमा योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा ‘आइसिटी स्टार्टअप– २०१६’ बाट ‘चार आइटी स्टार्टअप’लाई सूचना तथा सञ्चारमन्त्री राईले सम्मान गर्नुभयो । सम्मानित हुनेहरुमा सस्तो डिल प्रा.लि., कुल टेक्नोल्याब प्रा.लि., यल्लो नेपाल प्रा.लि. र स्मार्ट समाज प्रा.लि रहेका छन् । साथै आइसिटी विशेष सम्मान कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई प्रदान गरियो । पत्रिकाका सम्पादक राजन लम्सालले आइटी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।