विश्वमा स्मार्टफोनको तेश्रो ठूलो बजारको रुपमा रहेको भारतमा रिटेल स्टोरहरुमा आइफोन सेभेन र आइफोन सेभेन प्लसको प्रि बुकिंग एप्पलका अघिल्ला उत्पादनहरु आइफोन सिक्स तथा आइफोन सिक्स प्लसको तुलनामा ५० प्रतिशतले उच्च रहेको छ । नयाँ संस्करणको आइफोनमा इनोभेटिभ फिचर्स तथा प्रतिस्पर्धी कम्पनी सामसुङले पछिल्लो पटक बजारमा ल्याएको ग्यालेक्सी नोट सेभेनमा देखिएको समस्याले एप्पलको आइफोन सेभेन तथा सेभन प्लसको माग बढाएको हो ।
भलै एप्पलले अझै भारतमा आधिकारिक रुपमा आइफोन सेभेन र सेभेन प्लसको प्रि बुकिंग सुरु गरेको छैन र आउँदो अक्टोबर १ बाट मात्र आधिकारिक रुपमा बुकिंग सुरु हुनेछ । तथापि एप्पल प्रयोगकर्ताहरु भने खुद्रा स्मार्टफोन बजारमा आफुखुसी नयाँ आइफोनका लागि आफ्नो नाम टिपाइरहेका छन् ।
एप्पलले आफ्नो नयाँ स्मार्टफोनको उच्च मागलाई थाम्नका लागि सुरुमै ठूलो परिमाणमा आइफोन सप्लाई गर्ने योजना बनाएको छ । साथै ब्याट्रीमा देखिएको समस्याका कारण फिर्ता बोलाइएको ग्यालेक्सी नोट सेभेनको संकटको पनि पूरा फाइदा उठाउने दाउमा छ एप्पल । यद्यपि बजारबाट फिर्ता बोलाइएका ग्यालेक्सी नोट सेभेनमा सुधार गरी खोँटरहित स्मार्टफोन पुनः लञ्च गर्ने प्रक्रियााई सामसुङले पनि तिब्र बनाएको छ । भारतमा आउँदो २८ देखि ३० सेप्टेम्बरको बीचमा सुधारिएको नोट सेभेन लञ्च हुनेछ ।
सामसुङले सुधारिएको नोट सेभेन पहिलोपटक बजारमा ल्याउने देशहरुमा भारत पनि एक रहेको छ । दक्षिण कोरियामा सेप्टेम्बर २८ मा सुधारिएको नोट सेभेन लञ्च हुनेछ । अक्टोबर ७ मा एप्पललको नयाँ आइफोन भारतमा लञ्च हुनुभन्दा अघि नै नोट सेभेन भारतीय बजारमा पूराउने लक्ष्य सामसुंगको छ । साथै सामसुङले भारतमा उपभोक्ताको विश्वास आर्जन गर्ने अभियान समेत सुरु गर्ने योजना बनाएको छ ता की नोट सेभेन सुरक्षित रहेको प्रचारप्रचार होस् ।
अधिकारीहरुका अनुसार नोट सेभेनको लञ्चिंगमा भएको ढिलाई सामसुंगका लागि ठूलो झट्का हो । यद्यपि सामसुंग र एप्पलबीचको लडाइँ केवल चाडवाडको सिजनसम्म मात्र सिमित छैन । एप्पल भारतमा सामसुंगको कठिनाईको पूरा फाइदा उठाउन चाहन्छ । जबकी सामसुङ भने भारतीय बजारमा नयाँ आइफोन आउनुअघि नै नोट सेभेन बजारमा उतारिसक्ने दाउमा छ ।
बजार अधिकारीहरुका अनुसार भारतीय उपभोक्ताहरुले यसअघि प्रि बुकिंग गरिसकेका ग्यालेक्सी नोट सेभेनको बुकिंग रद्द गरेका घटना नगन्य छन् । तथापि बुकिंग गरिसकेको ग्याजेट कहिले खरीद गर्न पाइन्छ भनेर खासै चासो पनि राखेका छैनन् । यसको अर्थ ग्यालेक्सी नोट सेभेनप्रति भारतीय उपभोक्ताको रुची घटेको देखिन्छ ।
सोही कारण सामसुङ भारतीय उपभोक्ताको विश्वास आर्जन गर्नका लागि अभियान नै चलाउने योजनामा छ ।सामसुङ इण्डियाले भारतीय नागरिक उड्ययन निर्देशनालयसमक्ष उडानका क्रममा नोट सेभेनको प्रयोगमा रोक नलगाउन अनुरोध गरेको थियो । तर निर्देशनालयले उक्त अनुरोध खारेज गर्यो । एक अधिकारीका अनुसार सामसुङको याचिका यो तर्कमा आधारित थियो की उसले भारतमा अहिलेसम्म नोट सेभेन लन्च नै गरेको छैन । तर निर्देशनालयले भने संघीय उड्ययन प्रशासनको निर्देशनको पालना गर्ने अडान राख्यो ।