नेपाल वायु सेवाले लगायो सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध

सुचना-प्रबिधी

काठमाडौं, १३ असोज- अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएका छन् ।

galaxy-note-7-01

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बुधबार सूचना जारी गरी आफ्ना हवाई यात्रुलाई सामसुङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएको जानकारी गराएको छ । यतीले सार्वजनिक सूचना जारी गर्दै अबदेखि आन्तरिक उडानमा सञ्चालित आफ्ना सबै विमानमा यात्रा गर्ने यात्रुहरूका लागि सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल फोन साथमा बोक्न एवं चलाउन प्रतिबन्ध लगाएको हो ।

अमेरिका र युरोपलगायत अन्तर्राष्ट्रिय उडानमा केही महिनाअघि देखि विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल बोक्न लगाइएको प्रतिबन्धपछि अहिले यहाँको स्वदेशी निजी वायुसेवा कम्पनी यतीले पनि सामसुङको सो मोबाइल फोनबाट विमानमा आगलागी हुन सक्ने त्रास बढेको भन्दै हवाई सुरक्षाका लागि यस्तो निर्णय गरेको जनाएको छ ।

यतीले अहिले आफ्ना विमानमा चढेदेखि विमान स्थलभित्रको धावन मार्गबाहिर नआएसम्म अनिवार्य रूपमा मोबाइल स्विच अफ गरी हाते झोलामा बोक्न अनुरोध गरेको छ । यात्रुले आफ्नो लगेजमा समेत यो मोबाइल बोक्न नपाउने सो कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी, अब यात्रुले आफ्नो साथमा भएको यस्तो मोबाइल फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी गराएको छ ।

samsung-galaxy-note7

यतीले हवाई यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निर्णय भई जारी गरिएको बताएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उनीहरूका विमानमा सामसुङको सो मोबाइल पड्किने समस्याका कारण उडानका बेला विमानभित्र बोक्न प्रतिबन्ध लगाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि केही समयअघि सो विषयमा व्यापक छलफल गरेको थियो । पछिल्लो समय सामसुङ ग्यालेक्सी नोट–७ को ब्याट्रीमा समस्या देखिएको छ । सोही कारण विभिन्न देशमा ब्याट्री पड्किएको घटना सार्वजनिक भएका छन् ।