सामसुङले ब्याट्री पडि्कएर फिर्ता ल्याइएका आफ्नो पछिल्लो स्मार्टफोन ग्यालेक्सी नोट सेभेनको पुनः बिक्रि सुरु गर्दैछ दक्षिण कोरियामा । जबकी युरोपमा भने अक्टोबर २८ देखि ग्यालेक्सी नोट सेभेनको पुनःप्रवेश हुँदैछ । चार्ज गरिरहेको बेला वा गरिसकेपछि फोन विस्फोट भएको भन्दै विभिन्न देशका उपभोक्ताहरुको गुनासो आएसँगै सामसुङले आफ्ना उपभोक्ताहरुलाई उनीहरुले खरीद गरेका फोन फिर्ता गर्न अपिल गर्यो । फोनमा विस्फोट हुने र आगो लाग्नुमा ब्याट्रीको समस्या कारक रहेको सामसुंगले जनाएको छ । फोन फिर्ता लिनुअघि उसले विश्वका विभिन्न १० देशमा गरी २५ लाख नोट सेभेन बिक्रि गरिसकेको थियो । दक्षिण कोरियामा बिक्रि भएका मध्ये ८० प्रतिशत नोट सेभेन नयाँसँग सट्टापट्टाका लागि कम्पनीमा फिर्ता आइसकेका छन् । युरोप र अमेरिकामा भने केवल ५० प्रतिशत जत्तिमात्र फिर्ता भैसकेका छन् ।
सामसुंग श्रोतका अनुसार समस्याग्रस्त नोट सेभेन फिर्ता गरेका मध्ये ९५ प्रतिशतले सामसुंगकै मोडेललाई निरन्तरता दिने इच्छा जाहेर गरेका छन् । यो भनेको सामसुंगको ब्राण्डप्रति उपभोक्ताको व्यापक लगाव मानिएको छ । तर यो घटनामा कम्पनीले प्रष्ट रुपमा ठूलो मूल्य चुकाउनुपरेको छ जसलाई मौदि्रक मूल्यमा ठ्याक्कै मापन गर्न असम्भवप्रायः हुन्छ ।
प्हिलो त सामसुंगले एप्पल तथा यसको नयाँ आइफोन सेभेन विरुद्धको अभियानमा आफ्नो निकै महत्वपूर्ण एक महिना बितायो ।
दोश्रो, सामसुंगको ब्राण्ड धुमिलिएको छ । आफ्नो फोनका अधिकांस पाटपूर्जा आफै बनाउने भनी सामसुंगले गर्व गर्ने गरेको छ । आफ्नो प्रतिस्पर्धी कम्पनीहरुले जस्तो यसले पाटपुर्जा निर्माणका लागि आउटसोर्सिंग गर्ने गरेको छैन । तर स्वनिर्मित उच्च गुणस्तरको घमण्ड नोट सेभेनको फिर्तिसँगै खोक्रो सावित भएको छ । तेश्रो, समस्याग्रस्त फोनमध्ये धेरै फिर्ता भैसकेका भएपनि अझै उल्लेख्य संख्यामा नोट सेभेन प्रयोगकर्ताको हातमै छन् ।
वायुसेवा कम्पनीहरुले उडानका क्रममा यात्रुहरुलाई ग्यालेक्सी नोट सेभेन साथमा नराख्न वा स्विच अफ गरेर मात्र राख्न उर्दी जारी गरिरहेका छन् । के मर्मत सुधारपछि दोश्रो पटक बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेनले जहाजभित्र प्रवेश पाउलान् ? के अब वायुसेवा कम्पनीहरुले नोट सेभेन माथिको प्रतिबन्ध फुकुवा गर्लान् ?
निकै महत्वपूर्ण मानिएको चिनिया बजारमा आइफोनको ठूलो हिस्सा छ । तर सामसुंग भने एप्पल र चिनिया फोनको बीचमा थिचिएको छ । अझ आगो ओकल्ने ब्याट्रीले सामसुंगलाई त्यो तिव्र प्रतिस्पर्धामा झनै अप्ठेरो पार्ने देखिन्छ ।