फेसबुकका ५ करोड प्रयोगकर्ताको एकाउन्टमा आक्रमण

फेसबुकका  ५ करोड प्रयोगकर्ताको एकाउन्टमा आक्रमण
सुचना-प्रबिधी

फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण ५ करोड प्रयोगकर्ताहरूका फेसबुक खातालाई अनधिकृत रुपमा सूचना लिने ह्याकरहरूले निशाना बनाउन खोजेको जनाएको छ।

फेसबुकले आफूले भर्खरै अनुसन्धान थालेकोले त्यस्तो आक्रमण कसले गरेको हो त्यो थाहा नभएको जनाएको छ। उसले कुनै खाताहरूको सूचना दुरुपयोग गरिएको छ कि छैन भन्ने पनि पत्ता नलागेको जनाएको छ।

उक्त खतरा फेसबुकको “भ्यू ए्याज” नामक कोही अरूले आफ्नो फेसबुक प्रोफाइल कसरी हेर्नसक्छन् भन्ने गोपनीयतासम्बन्धी सुविधामा रहेको बताइएको छ।

उक्त सुविधामार्फत ह्याकरहरूले प्रयोगकर्ताको खातामा नियन्त्रण कायम गर्न सकेको पनि फेसबुकले जनाएको छ।

ह्याकरहरूले गरेको उक्त अतिक्रमणबारे मंगलबार जानकारी प्राप्त भएको र लगत्तै त्यसबारे प्रहरीलाई जानकारी गराइएको फेसबुकले जनाएको छ।

त्यसरी प्रभावित भएका सम्भावित प्रयोगकर्तालाई शुक्रबार आफ्नो खातामा पुन: लग इन गर्न भनिएको थियो।

फेसबुकले अहिले त्यस्तो कमजोरी सुधारिसकिएको र सबै प्रभावित खाताहरूलाई रिसेट गरिएको बताएको छ।

अन्य ४ करोड प्रयोगकर्ताबारे पनि पूर्व सावधानीका कदम चालिएको जनाएको छ।

Post Comment