सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी सहरमा चौथो पुस्ताको ‘फोरजी’ सेवा सन्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘स्वीच’ दबाएर फोरजी प्रविधिमार्फत् ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरे ।
टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो ।
टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करिब १५० भन्दा बढी स्थानमा ‘बीटीएस टावर’ जडान गरिएको छ ।
सातै प्रदेशका मुख्य–मुख्य सहरमा फोरजी सेवा विस्तार गरिएको छ ।
प्रदेश नम्बर–१ को चन्द्रगढी, बिर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सन्चालनमा आएको छ ।
यस्तै, प्रदेश नम्बर–२ को जनकपुर, जलेश्वर, मलंगवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा सुरु भएको छ ।
प्रदेश नम्बर–३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गन्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सन्चालनमा आएको छ ।
गन्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोरजी सेवा सन्चालनमा आइसकेको छ ।
प्रदेश नम्बर–५ को तौलिहवा, बुटवल, देवदह, तुलसीपुर, घोराही, नेपालगन्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सन्चालनमा आएको छ ।
फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ ।
सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनकारुपमा हेरिएको छ ।
सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वांगीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पाेरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता भएको थियो ।
सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भएपनि निर्धारित् समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घन्टासम्म निरन्तर खटिइ काम सम्पन्न गरिएको थियो ।
टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ ।
टावरको फाउन्डेसन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ ।
देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ ।
गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको संख्यामात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
टेलिकमले गत शुक्रबारमात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो ।
के हो फोरजी सेवा ?
फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ ।
सन् १९८० को दशकमा व्यावसायिकरुपमा सुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिकरुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको ‘भ्वाइस कल’ सेवा दिने प्रविधि हो ।
फोरजी सेवाबाट ताररहित उच्चगतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट ‘थ्रीजी’भन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदन्डले १०० ‘एमबीपीएस’ गतिको इन्टरनेट सेवालाई फोरजीकारुपमा मानिएको छ ।
फोरजी प्रविधिअन्तर्गत् टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलग–अलग ‘फ्रिक्वेन्सी ब्यान्ड’मा सेवा सन्चालन गरिने टेलिकमले जनाएको छ ।
फरक–फरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ ।
कसरी गर्ने ‘एक्टिभेट’ ?
‘टुजी’ र थ्रीजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ ।
अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् ।
पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ ।
थ्रीजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ ।
टेलिकमले दसैंका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ ।
कम्पनीकाअनुसार पहिलोपटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको २०० एमबी डाटा ‘बोनस’ पाउनेछन् ।