पर्यटकलाई स्वागत गर्न तयार ‘सडक महोत्सव’

पर्यटकलाई स्वागत गर्न तयार ‘सडक महोत्सव’
पर्यटन

रेवान पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०१८ अवसरमा पोखरामा हुने १९ औं संस्करणको सडक महोत्सवको तयारी पूरा भएको छ । आयोजकले मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।

महोत्सव पर्यटकीयस्थलको करिब साढे ३ किमी क्षेत्रलाई दुलहीझैं सिंगारिएको छ भने महोत्सवको बेला रेष्टुरेन्ट तथा पसलहरुले पनि सडकबाटै दिने रेवान अध्यक्ष चौबहादुर गुरुङले बताए ।

महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको ठूलो भीड लाग्ने हुँदा सोही अनुसार व्यवस्थापन गरिएको रेवानका पूर्व अध्यक्ष गोपि भट्टराईले बताए । महोत्सव अवधिभर सडकमा कुनै किसिमका सवारी साधन सञ्चालन हुनै छैनन् भने ठाउँ–ठाउँमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमका साथ कन्सर्टको व्यवस्थासमेत मिलाएको उनले जानकारी दिए ।

व्यवसायीले महोत्सव अवसर विभिन्न खानाका परिकार सडकबाटै पस्कने छन् । ग्राहकले आँखै अगाडि बनाइने खानाका परिकारको स्वाद चाख्न पाउनेछन् । महोत्सवको अवसरमा यहाँका होटलमा खचाखच भएका छन् ।

महोत्सव अवसरमा यहाँका होटलहरु बुकिङ भरिभराउ भएका छन् भने सानादेखि तारे होटलमा अग्रिम बुकिङ भैसकेको पर्यटन व्यवसायी नरेश भट्टराईले जानकारी दिए ।

महोत्सवमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा जापान, चीन, कोरिया, भारतका सांस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षणका रुपमा रहेको बलराम पहारीले बताए ।

नेपालका ७ वटै प्रदेशका सांस्कृतिक कार्यक्रमले ३ किमी क्षेत्रदेखि स्टेजसम्म आफ्नो संस्कृति पस्कने छन् भने प्रदेश नम्बर १ बाट सतार जातिको सांस्कृतिक कार्यक्रम, प्रदेश २ बाट मैथली कार्यक्रम, प्रदेश ३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डँडेलधुराको देउडा जातिको सांस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइनेछ ।

सोही अवसरमा छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट लगायत कार्यक्रम हुनेछन् ।

अफ् सिजनमा पनि पर्यटक भित्राउन पछिल्लो समय रेस्टुरेन्ट एन्ड बार एसोसियसन रेबान पोखराले अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव आयोजना गर्दै आएको छ ।

पोखरामा ६ सय भन्दा बढी होटलमा दैनिक २२ हजार पाहुनालाई सेवा दिने क्षमता छ । पोखराको पर्यटनमा निजी क्षेत्रको मात्रै १ खर्ब रुपैयाँ भन्दा बढी लगानी पुगेको छ । घुमफिर र प्राकृतिक छटाहरुको अवलोकनबाहेक पछिल्ला केही वर्षयता पोखरा प्याराग्लाइडिङ, बन्जीजम्प, अल्ट्रालाइट, क्यानोनिङ जस्ता साहसिक खेल पर्यटनको गन्तब्य समेत बनेको छ ।

सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सव स्थलमा गरी झण्डै ५० करोड रुपैयाँ कारोबार हुने अनुमान छ ।

Post Comment