पोखरा आसपासमा नयाँ पदमार्गको खोजी

पोखरा आसपासमा नयाँ पदमार्गको खोजी
पर्यटन

पदयात्राका लागि आउने पर्यटकहरुको बसाई लम्ब्याउन ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले नयाँ पदमार्गको खोजी गरेको छ ।

पोखराको फेवातालको मुहान पामे, चापाकोट ,घडेरी, पलैँचे,र भुम्दीकोटसम्मको करिब ८ किलोटिर पदमार्गलाई विकास गरि पर्यटकको बसाई लम्ब्याउन टानको क्षेत्रीय संघ लागिपरेको हो । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको भए पनि मोटरेबल बाटो पुगेपछि पदयात्रा संकटमा पर्न थालेका छन् ।

छोटो समयका लागि घुम्न आउने तर पदयात्रा गर्न चाहने पर्यटकका लागि दुई दिन एक रातको यात्रा अविश्मरणीय हुने पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विश्व अधिकारीले बताए ।

टानका अध्यक्ष दीपक अधिकारीले पोखरा आसपासमा रहेका पदमार्गलाई सञ्चालनमा ल्याउन सके ताल, हिमशृंखला र नेपाली संस्कृतिलाई पर्यटकहरुले नजिकबाट नियाँल्न पाउने बताए ।

पामे, चापाकोट, घडेरी, पलैँचे र भुम्दीकोटसम्म करिब ५ घण्टासम्मको बाटोमा नेपाली संस्कृति, ग्रामीण भेषभुषा र गाउँले घरहरुलाई पर्यटकले नजिकबाट हेर्न पाउने पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले बताए ।

पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले नेपालमा पदयात्रीको संख्या बर्सेनि बढ्दै गएकाले पर्यटकको बसाई लम्ब्याउनका लागि यो पदमार्ग सफल हुने बताए ।

पदयात्रा मोटर बाटोबाट छोटिदैं जाँदा टान पश्चिमाञ्चल पोखरा र नेपाल पर्यटन बोर्डको सहकार्यमा छोटो दुरीको मार्ग पहिचान गरी सञ्चालनमा ल्याउन लागेको जनाइएको छ ।

यो मार्ग बिगतमा सञ्चालन रहेको भए पनि प्रचारमा ल्याउन नसक्दा ओझेलमा परेको थियो । यो मार्गमा करिव १ हजार बढी पर्यटकले पदयात्रा गरेका थिए । यो पदयात्रा पोखराको ड्यामसाईडबाट शुरु गरी पामेसम्म र पामेबाट ड्यामसाईडसम्म पनि यात्रा गर्न सकिन्छ ।

यो क्षेत्रबाट पर्यटकहरुले हिमाल, ताल, पोखरा बजारलाई नजिकैबाट अवलोकन गरि नेपाली ग्रामीण शैलीको संस्कृतिमा रमाउन सक्ने टानका उपाध्यक्ष हरि भुजेलले बताए ।

Post Comment