होटेल अभावले गोठमा समेत बस्छन् पर्यटक

होटेल अभावले गोठमा समेत बस्छन् पर्यटक
पर्यटन

कास्कीको अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ८५ हजार विदेशी पर्यटक भित्रिएका छन् । पर्यटकको संख्याअनुसार भौतिक पूर्वाधार नहुँदा स्तरीय सेवा पुर्‍याउन कठिन भएको छ । अधिकांश पदमार्ग रहेको उक्त गाउँपालिकामा ती पर्यटकका लागि उपयुक्त होटेल पूर्वाधार भने पुर्‍याउन नसकिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

‘एउटै सामान्य घरमा वर्षमा ७ सय विदेशी पर्यटक बसेको तथ्यांक छ,’ उनले भने, ‘त्यसलाई थप पूर्वाधार बनाउन दिने आधार हामीसँग छैन ।’ टाँडापानीदेखि एक दिनको पैदल दूरीमा रहेको दोबाटोको सामान्य घरसमेत भन्न नमिल्ने अवस्थाका पूर्वाधारमा पर्यटक बस्न बाध्य छन् ।

अन्नपूर्ण गाउँपालिका पदमार्गमा अधिकांश सरकारी जग्गामा केही होटेल पूर्वाधार बने पनि पर्याप्त छैनन् । त्यहाँ कुनै वेला झन्डै ८ हजार पर्यटकका लागि बनेका भनिएका पूर्वाधारले अब थेग्न नसक्ने अध्यक्ष कुँवरले बताए । होटेलहरूमा पूर्वाधार थप्न लगाउने र थप पूर्वाधारका लागि पहल गर्ने गाउँसभाले निर्णय गरेको उनले बताए । यसका लागि बजेटसमेत छुट्याइएको कुँवरले बताए । अहिले पूर्वाधार अभाव भएकै कारण पदयात्रामा जाने पर्यटक गोठमासमेत बस्न बाध्य रहेको उनले बताए ।

पर्यटन पदमार्गको पहिलो डिपिआर
अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माणका लागि डिपिआर तयार गरिरहेको छ । अध्यक्ष कुँवरले पदमार्गकै लागि डिपिआर तयार पार्ने काममा अन्नपूर्ण गाउँपालिका पहिलो भएको दाबी गरे । घान्द्रुक हुँदै छोमरोङदेखि अन्नपूर्ण बेस क्याम्पसम्मका लागि यस्तो पदमार्ग निर्माण गर्न लागिएको हो । कात्तिकमा डिपिआर तयार भइसक्ने उनको भनाइ छ । ८ लाखको लागतमा सो पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

होटेलहरूबाटै ३० लाख राजस्व
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर सो गाउँपालिकालाई पर्यटकीय राजधानीको पनि केन्द्र भएको बताउँछन् । पूर्वाधार गतिला नभए पनि सामान्य होटेल पूर्वाधारबाट मात्र आर्थिक वर्ष ०७४/७५ मा मात्र ३० लाख रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । होटेलहरूबाट संकलित राजस्व सोही क्षेत्रमा खर्चिने कुँवर बताउँछन् । उनले सो क्षेत्रमा झन्डै २ सयको हाराहारीमा पर्यटकलाई राख्न मिल्ने सामान्य होटेल पूर्वाधार रहेको बताए ।

पर्यटक बढाउन पूर्वाधार चाहिन्छ
पर्यटन मन्त्रालयले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । गण्डकी प्रदेश सरकारले सन् २०२२ मा एक्लै २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । पर्यटन पूर्वाधारविना सोचेअनुरूप पर्यटक भित्र्याउन नसकिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कुँवरको दाबी छ । मुलडे र हिडन लेकजस्ता पर्यटकीय क्षेत्र विस्तार गर्नेलगायतका काम आफ्नो गाउँपालिकाले गर्ने उनले बताए । होटेल पूर्वाधार थप्ने, थप ४ वटा पदमार्गको पहिचान भइसकेकोजस्ता कार्य आफ्नो गाउँपालिकाले गरेको बताएका उनले अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश गर्दा पर्यटन बोर्डले टिम्समार्फत लिने रकमको सदुपयोग गर्नसमेत आग्रह गरेका छन् ।

एकै ठाउँबाट प्रदेशका ११ वटै जिल्ला देखिन्छन्
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कुँवरले आफ्नो गाउँपालिकाको ३ हजार ६ सय ३७ मिटरको उचाइमा पुग्दा गण्डकी प्रदेशका सबै जिल्लाहरू नांगो आँखाले देख्न सक्ने बताए । मुलडे भन्ने स्थानबाट यहाँका सबै जिल्ला देख्न सकिने उनको दाबी छ ।

मुलडेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आफूहरूले पहल गरिसकेको र त्यहाँ झन्डै तीन हजारको हाराहारीमा पर्यटक पुगेर दृश्यावलोकन गरिसकेको उनले बताए । ‘मुलडे पुगेपछि हाम्रो प्रदेशका सबै जिल्ला एकै स्थानबाट नांगो आँखाले देख्न सकिन्छ,’ उनले भने, ‘यस्तो ठाउँलाई किन उजागर नगर्ने भनेर सामान्य भनेकै भरमा झन्डै ३ हजार पर्यटक पुगेका छन् ।’

Post Comment