नेपाल नागरिक उड्डयन प्राधिकरणले मौखिक रूपमा ६ महिना अगाडिदेखि नै नयाँ एयरलाइन्स कम्पनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण अनुमति नदिने घोषणा गरेको थियो। तर, अनुमति प्रक्रियामा मन्त्री तथा नेताको उच्च दबाव रहेपनि प्राधिकरणले नीतिगत रूपमै काठमाडौं विमानस्थललाई आधार बनाएर उद्गम वा प्रस्थान हुनेगरी नयाँ वायुसेवा कम्पनीहरुलाई वायुसेवा सञ्चालन अनुमति प्रदान नगर्ने व्यवस्था गरेको पोखरेलले बताए।
प्राधिकरणले ‘वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। तर, हाल सञ्चालन आधार रहेका कुनै वायुसेवा कम्पनी बन्द भएमा वा सञ्चालन आधार अन्यत्र स्थानान्तरण गरेको अवस्थामा भने वायुयानको क्षमता मूल्यांकन गरेर मात्रै नयाँ अनुमति दिन सकिने उनले बताए।
यसमा पनि काठमाडौं बाहिर सञ्चालन आधार रहेका वायुसेवाहरुको सञ्चालन प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा प्राथमिकता निर्धारण गरी सञ्चालन आधार दिइने नीतिमा व्यवस्था छ। साथै, नीतिमा नयाँ वायुसेवा कम्पनीलाई काठमाडौं बाहिरका ‘हब’ विमानस्थलहरु विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थलमा सञ्चालन आधार रहने गरी उडान अनुमति दिइने उल्लेख छ। साथै तोकिएका विमानस्थलमा उडान सञ्चालन गर्ने गरी वायुसेवा सञ्चालन अनुमति पत्रमा उडान वृत्त खण्ड समेत स्पष्ट उल्लेख गरेर मात्रै अनुमति दिइने पोखरेल बताउँछन्।
नयाँ अनुमति प्रदान गर्दा पनि अबदेखि नयाँ वायुसेवा कम्पनीका लागि आवश्यक पर्ने वायुयान चालक तथा वायुयान मर्मत सम्भार इन्जिनियर आवश्यक संख्यामा रहेको एकिन गरी मात्र सञ्चालन प्रमाणपत्रको प्रकृया अघि बढाइने नीतिमा उल्लेख छ।
सेवा सुरु गरेको ५ वर्षपछि विदेशी पाइलट राख्न नपाइने
वायुसेवा कम्पनीले सेवा सञ्चालन गरेको ५ वर्षभित्र वायुयान चालक, इन्जिनियर जस्ता जनशक्ति पूर्ण रुपमा नेपाली बनाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ। तर, कुनै नयाँ प्रकारको वायुयान (फिल्ट) थप गरेको अवस्थामा भने यो नियम लागू हुने छैन। यसका लागि पनि कम्पनीले थप पाँच वर्षको समयसीमा पाउने छ।