संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा मनोनयन गरेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ ।
मन्त्री अधिकारीले दुईवटा विदेश भ्रमणमा आफ्ना दुईजना स्वकीय सचिवालय सदस्यको नाम राख्न प्रस्ताव गरेपछि मन्त्रिपरिषदको कार्यालयले चासो राखेको हो ।
तर, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीका स्वकीय सचिव राजेन्द्र आचार्य र मन्त्रालयका दुई उपसचिव अमेरिकास्थित मदरल्याण्ड नामक एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन अमेरिका जान लागेका हुन् । भ्रमण दलमा उपसचिवद्वय रामकृष्ण लामिछाने र प्रकाश ढकाल छन् ।
आफूहरु अफिसियल कार्यक्रमका लागि ८ नोभेम्बरदेखि ४ दिनसम्म अमेरिका जान लागेको उपसचिव ढकालले अनलाइनखबरलाई जानकारी दिए ।
यस्तै आगामी नोभेम्बरमा जर्मनीमा हुने विश्व पर्यटन सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर टोलीमा पनि मन्त्री अधिकारीको स्वकीय सचिवालयका कम्प्युटर अपरेटरलाई समेटिएको छ । उक्त भ्रमणको खर्च नेपाल पर्यटन बोर्डले व्यहोर्ने छ ।
मन्त्री अधिकारीले राज्यकोषको खर्चबाट स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमण गराउन थालेको भन्दै मन्त्रिपरिषदको कार्यालयमा उजुरी परेको स्रोतले अनलाइनखबरलाई बतायो ।