ताप्लेजुङमा पर्यटकलाई मध्यनजर गर्दै यस्तो बन्दैछ होमस्टे

ताप्लेजुङमा पर्यटकलाई मध्यनजर गर्दै यस्तो बन्दैछ होमस्टे
पर्यटन

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटकलाई मध्यनजर गर्दै होमस्टे (घरवास) सञ्चालनको तयारी गरिएको छ । जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा सामुदायिक होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

फुङ्लिङ बजारदेखि आधा घन्टा सवारीसाधनको यात्रा र करिब सवा एक घन्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुङ्कुलुङ पर्यटकीय दृष्टिकोणले रमणीय र सुन्दर तथा आकर्षक गाउँ पनि हो । शेर्पा समुदायको मात्र बसोवास रहेको सो गाउँका ६ जना मिलेर क्रिएटिभ ब्रदर्स प्रालि नामक संस्था दर्ता गरेर होमस्टे सञ्चालनको तयारी थालेको संस्थाका सञ्चालक पासाङरिता शेर्पाले बताए ।

शेर्पाका अनुसार आउँदो असोज महिनाभित्रै सामुदायिक होमस्टे सञ्चालन गर्ने तयारीका साथ हाल धमाधम कामहरू भइरहेका छन् । संस्थामार्फत सञ्चालन हुने भए पनि होमस्टे छुट्टै दर्ता गर्नुपर्ने प्रावधान रहेकाले सोअनुसार प्रक्रिया सुरु गरिएको शेर्पाको भनाइ छ । सुरुमा १० देखि १२ वटा घरमा होमस्टे सेवा सञ्चालन गर्ने गरी दर्ताको प्रक्रिया अघि बढाएको उनले बताए । जिल्लामा रहेको विश्वको तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजंघालगायत पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षित गर्ने गरी होमस्टेको तयारी गरिएको शेर्पाको भनाइ छ । विदेशी पर्यटकलाई नै आकर्षित गर्ने योजनाका साथ घरको वासबाहेक छुट्टै कटेज तथा पाहुना घरहरू निर्माण गर्दै आएको उनले बताए ।

गएको आर्थिक वर्षमा प्रदेश १ सरकारले पर्यटन प्रवर्द्धन अन्तर्गत कृषि पर्यटन योजनाका लागि संस्थालाई उपलब्ध गराएको १४ लाख, साथै संस्थाको १४ लाख रुपैयाँ गरी जम्मा २८ लाख रुपैयाँ खर्च गरेर सातवटा कजेज, एउटा पाहुना घर र भान्साघरलगायतका संरचना निर्माण गरेको शेर्पाले बताए । नमुना सामुदायिक होमस्टे सञ्चालन गर्ने योजना बनाइएकाले सोहीअनुसार संरचनाहरू आकर्षक बनाउन कटेज तथा पाहुना घरहरू बाराबेरादेखि छाना छाउनमा समेत परेङ बाँसको प्रयोग गरिएको शेर्पाको भनाइ छ ।

संरचना निर्माण गर्न र संस्थामा आबद्धसमेत ३० परिवारमा आलु, बन्दाकोभी, सिस्नु खेती, लोकल कुखुरापालनलगायतमा प्रदेश सरकारको अनुदान रकम खर्च गरिएको उनको भनाइ छ । छिट्टै सञ्चालनमा ल्याउने योजना बनाएको भए पनि कोभिड–१९ को महामारीका कारण सम्भव नभएको सञ्चालकको भनाइ छ । होमस्टेको विशेषताअनुसार कोदो, जौ, उवा, पात्ले सिस्नु, आलुसहित अर्गानिक स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता दिइनेछ ।

Post Comment